Logo
Logo
विपक्षी गठबन्धनको सन्देश

संविधान जोगाउन ओलीविरुद्ध एक हुने, बाह्य चलखेल नसहने


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध संगठित भएको विपक्षी गठनबन्धनले ओलीविरुद्ध अन्तिमसम्म संघर्ष गर्ने बताएको छ ।

गठबन्धनका शीर्ष नेताले बिहीबार सम्पादकहरुसँगको छलफलमा गठबन्धन संविधान र लोकतन्त्रको रक्षार्थ बनेको भन्दै संविधानको रक्षा नभएसम्म गठबन्धन चलिरहने जनाएको हो ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड),उपेन्द्र यादव र माधवकुमार नेपालले आफूहरु ओलीविरुद्ध कम्तिमा आउने चुनावसम्म सहकार्यमा रहने स्पष्ट सन्देश दिए ।

माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निकै लामो बहस र छलफलपछि बनेको गठबन्धन भएको, यसका पछाडि सैद्धान्तिक र राजनीतिक आधारसँगै भावना र संवेदनाका आधारसमेत जोडिएको उल्लेख गरे। संविधानको रक्षा र संविधानलाई समयानुकुल परिमार्जन गर्दै लैजाने, लोकतन्त्रका आधारभूत मूल्य मान्यताको रक्षा गर्ने तथा राष्ट्रियताको रक्षा गर्ने गठबन्धनका सैद्धान्तिक र राजनीतिक आधार भएको बताए।

छलफलमा कांग्रेस सभापति देउवाले  आन्दोलनको आधार तयार भइसकेको दाबी गरे। उनले भने ‘हामी राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच दलको संयुक्त मोर्चाका साथ अग्रसर भएका छौं। आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्नेछौं।’

देउवाले सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लिखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको बताए। उनले भने, ‘नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं।’

बिहीबारकाे अन्तरक्रिया गठबन्धनको औचित्य सत्ताका लागि नभई संविधानका लागि भएको जनताललाई सन्देश दिन खोजिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्