Logo
Logo

कोरोनाको दीर्घ असरले रोगबारे के खुलासा गर्दै छ ?


दृष्टि संवाददाता

945
Shares


काठमाडौं । सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन् । महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ ।

सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन् । उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन् ।

‘महामारीको सुरुमा यो रोगले दीर्घकालसम्म प्रभाव पार्छ भन्ने थाहा थिएन । हामीले यो रुघा जस्तो केही समयमै निको हुने ठानेका थियौं,’ उनी भन्छिन् । तर उनलाई के थाहा थिएन भने उक्त क्लिनिकमा आएका एक तिहाई बिरामी अझै पनि अस्वस्थ रहनेछन् र काममा फर्कन सक्ने स्थितिमा हुनेछैनन् । क्लिनिकमा आएका आधाभन्दा बढी बिरामी त अस्पतालमा भर्नासमेत भएका थिएनन् ।

जतिबेला उक्त क्लिनिक खुल्यो, धेरै स्थानीय अस्पतालका चिकित्सकले हाइटमेनलाई फोन गर्न थाले । उनीहरू धेरै युवा तथा रोगका लक्षण नभएका बिरामीमा रोगका सघन लक्षण देखिएकोमा आचश्चर्यमा परेका थिए । ती चिकित्सकको सबैको समान धारणा के थियो भने सुरुमा सामान्य लक्षण देखिएर त्यसपछि धेरै लक्षण एकसाथ देखिएका बिरामी अत्यधिक थिए । यी बिरामीमा रोगका लक्षण केही साता र महिनासम्म रहेको थियो । यो चिकित्साको हिसाबले अनौठो घटना थियो । ‘यी बिरामीलाई अधिकतर अस्पतालले हेरेका थिएनन् किनभने रोगबाट निको भइसकेका बिरामीलाई हेर्ने पोस्ट कोभिड–१९ क्लिनिक उनीहरूसँगै थिए,’ हाइटमेन भन्छिन् ।

यस्ता अधिकतर बिरामीमा सबैभन्दा बढी देखिएको लक्षण थकान थियो, जसकारण उनीहरूले आफ्ना दैनिक कामसमेत गर्न सकेका थिएनन् । अध्ययनहरूले दीर्घ कोभिडका ६२ प्रतिशत बिरामीमा थकानको लक्षण हुने देखाएका छन् । यस्ता केसलाई हाल लङ कोभिड अथवा पोस्ट एक्युट कोभिड–१९ सिन्ड्रोम भनिन्छ । यस्तो होला भनेर सुरुमा कसैले कल्पनासमेत गरेका थिएनन् । हरेक १० कोभिड–१९ बिरामीमध्ये १ जनामा १२ सातासम्म यस्ता लक्षण हुने वैज्ञानिक समुदायको राय छ ।

तर यो जटिल विषयलाई बुझ्न अस्पतालमा भर्ना भएका र नभएका बिरामीका समूहका छुट्टाछुट्टै अध्ययन आवश्यक देखिन्छ । पहिलो समूहको व्यवस्थापन त्यति चुनौतीपूर्ण देखिएन किनभने यस्ता बिरामी मुटु तथा फोक्सो भाइरस संक्रमणका कारण प्रभावित थिए। सिटी स्क्यान अथवा एमआरआई स्कानले यो क्षतिलाई आँकलन गर्न सजिलो हुन्छ र कोल्चिसिन जस्ता औषधि दिएर आन्तरिक अंगमा हुने जलन घटाउन सकिन्छ । हाइटमेनका अनुसार उक्त क्लिनिकमा भर्ना भएका दुई तिहाई बिरामी राम्रोसँग निको भएका छन् भने बाँकी बिरामीको ६ महिनापछि स्क्यान गरेर हेर्दा ती अंगमा राम्रो सुधार देखिएको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्