काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिब १५ लाख बरावरको राहत सामाग्री वितरण गरेको छ ।
केही समयअघि आएको बाढिपहिरोका कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका थिए । सोही स्थानमा दुई दिनको यात्रा पछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज राहत वितरण गरिएको हो ।
संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गरेको छ । जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ । राहत सामग्री हरु चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङकेट लगाएत रहेका छन् ।
बिदाईको क्रममा युवा नेता बस्नेतले राहतको नाममा रकम उठाउँदै आफ्नो व्यक्तिगत व्यवस्थापन गर्ने जस्ता अनियमितता मौलाएको बताए । उनले राष्ट्रिय युवा संघले संघ भित्रका स्व ईच्छाले सहयोग गर्न चाहने व्यवसायीक व्यक्तबाट मात्र सहयोग संकलन गरि पारदर्शी वितरण गर्नुपरेको बताए ।
संघका अध्यक्ष किरण पौडेलले राहतको निम्ति संघ अनवरत खटिएको र देश भरिबाट राहत सामाग्री संकलन भैरहेको बताए । संकलित सामाग्री आवश्यक ठाउँमा वितरण गर्ने बताउँदै अन्तिममा सार्वजनिक सञ्चार माध्यम मार्फत संकलित र वितरण भएका सम्पूर्ण रकम तथा जिन्सी सामाग्री पब्लिक अडिट मार्फत सार्वजनिक गर्ने बताए ।
राहत वितरणको लागि संघका केन्द्रीय अध्यक्ष पौडेलसहित उपाध्यक्षहरु अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य, उपहासचिव रामजी सपकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्यलगायत रहेका थिए ।