काठमाडौं । सर्वोच्च अदालतले पार्टीको १०औं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि एमाले ओली पक्ष असन्तुष्ट बनेको छ । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सर्वोच्चको आदेशलाई गम्भीर र त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको हो ।
पार्टी प्रवक्ता दीपकुमार ज्ञवालीले सर्वोच्चको आदेश त्रुटिपूर्ण भएको भन्दै त्यसविरुद्ध आफुहरु भ्याकेटमा गएको बताए । सर्वोच्चको उक्त आदेशलाई दलको आन्तरिक विषयमाथि हस्तक्षेप भएको उनको बुझाइ छ ।
‘जेठ २७ गते सर्वोच्च अदालतले गरेको आदेश गम्भीर र त्रुटिपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो’ बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘त्यसलाई बदर गराउनका लागि हामी भ्याकेटमा पनि गइसकेका छौँ ।’
उनले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बारेमा उल्लेख भएको बताउँदै भने, ‘यो दलहरुको नितान्त आन्तरिक विषय हो ।’ एमालेको महाधिवेशन आयोजक कमिटीले कर्णालीका सांसद्हरुलाई पार्टीबाट निस्कासित गरेकोमा सर्वोच्च अदालतले उक्त कमिटीको वैधतामा प्रश्न उठाउँदै अन्तरिम आदेशमार्फत् कारबाही खारेज गरिदिएको थियो ।
यसैबीच पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले मान्यता नदिएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । यही १६ असारमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै ओलीले आयोजक कमिटीको बैठक बोलाएका हुन् ।