Logo
Logo
मदन भण्डारीको ७० औं जन्मजयन्ती

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्न माधव नेपालको अपिल


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तामा अपिल गरेका छन् ।

मदन भण्डारीको ७० औं जन्मजयन्तीमा शुभकामना दिँदै नेता नेपालले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तामा आह्वान गरेका हुन् ।

‘विद्यमान वैचारिक(राजनैतिक(साँस्कृतिक(आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वानसहित जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,’ नेता नेपालले भनेका छन् ।

नेता नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति चर्को आलोचना समेत गरेका छन् । ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अबलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ नेता नेपालले भनेका छन् ।

पछिल्लो समय विपक्षी गठबन्धनमा नेता नेपाल सक्रिय छन् । नेपालसहित उनी पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर गरेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले उनलाई कारवाही गरेका थिए ।

यसबीच ओलीले नेता नेपालको मागअनुसार २०७५ जेठ २ कै संरचनाअनुसार एमाले अगाडि बढ्ने भए देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए । नेपाल पक्षले भने हस्ताक्षर फिर्ता लिन नसकिने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्