काठमाडौं । गत साताका सरकारका निर्णयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा हलचल ल्याएको छ । जसबाट दुवै प्रहरीमा नयाँ नेतृत्वको हिसाबकिताब नै हेरफेर हुन सक्ने देखिएको छ ।
सरकारले नेपाल प्रहरीमा एआइजीको एक दरबन्दी थपेपछि संगठनमा त्यसले तल्लो तहसम्म हलचल ल्याएको हो । भावी महानिरीक्षकका रुपमा अघि बढाइएका एआइजी विश्वराज पोखरेलसँग सरकार सन्तुष्ट नभएपछि उनका ब्याचका अर्का अधिकृतलाई सँगै अघि बढाउने उदेश्यले एआइजीको दरबन्दी थपिएको स्रोत बताउँछ । थपिएको दरबन्दीमा यही साता बढुवाको निर्णय हुने सम्भावना छ । जसमा डिआइजीहरु सहकुल थापा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्त लामा लगायत प्रतिस्पर्धामा छन् । जसमध्ये सहकुल थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाउन चाहेको बालुवाटार स्रोत बताउँछ ।
सो निर्णयले प्रहरीमा त्यसपछिको ब्याचमा समेत तरंग ल्याएको छ । किनकि, एआइजी बढुवापछि रिक्त हुने डिआइजीको पदमा एक एसएसपीको बढुवा हुनेछ । जसमा भावी महानिरीक्षकका दाबेदारहरु प्रतिस्पर्धामा छन् । एसएसपीहरु सन्दीप भण्डारी, दीपक थापा, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली तथा उमेशराज जोशी लगायत डिआइजी बढुवाको प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये थापाको सम्भावना प्रबल देखिएको छ । यद्यपि, दरबन्दी थपेर भएपनि दुई जनाको बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । अहिले जो डिआइजीमा बढुवा भए उनीहरु प्रष्ट रुपमा त्यसपछिको नेतृत्वको दाबेदार हुनेछन् ।
सरकारको यो निर्णयले एआइजी पोखरेल भने तर्सिएका छन् । उनले यसअघि रातारात दरबन्दी थपेर आफ्नो बढुवा गराएका थिए । त्यसप्रति प्रहरी महानिरीक्षक लगायत उच्च प्रहरी अधिकारी असन्तुष्ट बनेका थिए । कार्यक्षमतामा पनि कमजोर देखिएपछि सरकारले एआइजीको अर्काे दरबन्दी थपेर प्रतिस्पर्धा गराउन चाहेको छ । जसअनुसार आगामी बैशाखमा परिवर्तन हुने प्रहरी नेतृत्वमा दुई एआइजीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सरकारले सशस्त्र प्रहरीमा पनि ठूलै हलचल ल्याएको छ । भावी महानिरीक्षकका दाबेदार ठानिएका डिआइजी प्रबीणकुमार श्रेष्ठ २६ वर्ष सेवामै अवकाश पाएका छन् । सरकारले उनको डिआइजीको पदावधि थप नगर्दा उनले अवकाश पाएका हुन् । पदावधि थप गर्न निवर्तमान वनमन्त्री नारदमुनी रानादेखि नेतृ निरु पालसम्मलाई लिएर बालुवाटार धाए पनि प्रधानमन्त्री ओलीले उनलाई नरुचाएको स्रोत बताउँछ । अवकाशपछि पनि पुरानै मिति राखेर म्याद थपेको गृहबाट माइन्यूटिङ गराउने उनको प्रयास असफल भयो ।
श्रेष्ठको अवकाशपछि बैशाखमा अर्काे ब्याच सिधैं आइजिपीको प्रतिस्पर्धामा हुनेछ । जसमा डिआइजीहरु राजु अर्याल, चन्द्रप्रकाश गौतम, नारायणदत्त पौडेल लगायत छन् । तीन हप्ताको बीचमा एआइजी बढुवा नभए उनीहरुमध्ये एक डिआइजीबाट सिधैं आइजिपीमा बढुवा हुने सम्भावना समेत देखिएको छ । जो आइजिपी भएपनि तीन वर्षभन्दा लामो समय नेतृत्व गर्ने अवस्था सिर्जना भएको छ । अर्याल आइजिपी भएमा भने उनीपछि पनि पौडेलले नेतृत्व अवसर पाउनेछन् । यो निर्णयले त्यसपछिको ब्याचको लेखाजोखामा समेत ठूलो परिवर्तन ल्याउने सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।