शम्भु श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा लगानी सम्मेलनको उद्घाटन भाषण गरिरहँदा सोसल मिडियाहरुमा यो सम्मेलन महायज्ञ जस्तो नबनोस् भनेर प्रतिक्रियाहरु आइरहेका थिए । यस्ता सम्मेलन विगतमा पनि नभएका होइनन् । तर, विगतमा प्रतिबद्धताअनुरुपको प्रतिफल नआएकोले सोसल मिडियामा नकारात्मक सन्देश प्रवाह भएको हो । यसलाइ अन्यथा लिनु हुँदैन । लगानी सम्मेलनमा ठूलाठूला परियोजनामा लगानी गर्छु भनेर घोषणा गर्ने तर, सम्मेलन सकिएपछि घोषणातिर फर्केर नहेर्ने प्रवृत्तिले गर्दा अहिले पनि के हुन्छ भन्ने शंका जनमानसमा व्याप्त छ । यो शंकालाई चिर्न सरकारले प्रतिबद्धता जनाएका लगानीकर्ताहरुलाई बारम्बार झकझक्याउनुपर्ने हुन्छ । अन्यथा, लगानीकर्ताहरु ‘पर्ख र हेर’को स्थितिमा पुग्नेछन् । त्यो अवस्था आउनु भनेको नेपाल जनताका लागि ‘आकाशको फल आँखातरि मर’ भनेजस्तै हो ।
वास्तवमा हामी नेपाली भनेको धनी देशका गरिब जनता हौँ । हिमाल, पहाड र तराई हाम्रा समृद्धिको स्रोत हो । त्यसलाई समयमा परिचालन गर्न नसक्दा हामी हातमुख जोर्न विदेशिन बाध्य भएका छौँ । देश विकासका लागि मानव स्रोत अर्थात् जनशक्ति महत्वपूर्ण कुरा हो । तर, दुर्भाग्य नेपालको युवा जनशक्ति देश होइन, विदेश बनाउन हिँडेका छन् । ती जनशक्तिलाई रोक्न सकेनौ भने ठूलाठूला परियोजना निर्माण गर्न लगानीसहित वैदेशिक जनशक्ति पनि आयात गर्नुपर्ने अवस्थामा हामी पुग्ने छौं । अहिले पनि नेपाल वैदेशिक रोजगारीका लागि आम्दानी कम भए पनि अवसर बढी भएको देश हो । सामान्य मजदुरले पनि नेपालमा अहिले एक हजारदेखि दुई हजारसम्मको श्रम रोजगारी पाइरहेका छन् । तुलनात्मक रुपमा खाडीमा काम गर्ने ज्यालाभन्दा नेपालमा बढी आम्दानी छ । यो कुरा हामीले हाम्रा जनशक्तिलाई बुझाउन सकिरहेका छैनौं । अहिले पनि हामी विभिन्न देशसँग श्रम सम्झौता गरेर नेपाली युवाहरुलाई विदेश पठाउन हतार गरिरहेका छौँ ।
पूर्व भारतीय राजदूत रञ्जित रेसँग पाल्पाको होटल श्रीनगरमा केही वर्षअघि यस्तै विषयमा कुरा हुँदा रेले भनेका थिए– नेपाल अपार जलस्रोतको धनी देश हो । यसमा दुईमत छैन । तर, वर्षमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्न कति खर्बको लगानी चाहिन्छ ? कति मेट्रिकटन सिमेन्ट, बालुवा, छड र अन्य सामग्री उपयोग हुन्छ ? कति जना इञ्जिनीयर, ओभरसियर र कामदार चाहिन्छ भन्नेतिर पनि ध्यान पु¥याउनु पर्छ । त्यसका लागि लगानी र जनशक्ति हामीकहाँ छ ? छ भने ठिकै छ । त्यसले देशभित्रको जनशक्तिलाई रोजगारी दिन्छ । काम गरेवापतको रकम देशमै रहन्छ । यदि लगानी र जनशक्ति पनि बाहिरबाटै ल्याउनु प¥यो भने वैदेशिक लगानीको केही हिस्सा विदेशमै फर्किन्छ ।’ पूर्वराजदूत रेसँगको सानो छलफल नेपालको लागि महत्वपूर्ण छ । नेकपाले चुनावी घोषणापत्रमा वर्षको एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने कुरा उल्लेख गरेको छ । एक हजार विद्युत् उत्पादन गर्न दुई खर्बको लगानी चाहिन्छ । हरेक वर्ष विद्युत्मा मात्र दुई खर्बको लगानी आउने हो र त्यो विद्युत् उत्पादन भएपछि हुने आम्दानीलाई हिसाब गर्ने हो भने नेपाली जनताले समृद्धिको पाँच वर्षभन्दा बढी कुर्नु पर्दैन । किनभने जलविद्युत् भनेको उत्पादनसँग जोडिएको कुरा हो । उत्पादनसँग स्वतः रोजगारी जोडिन्छ, रोजगारीसँग समृद्धि जोडिएको छ । त्यसका लागि शान्ति, स्थिरता र सुशासन मात्र होइन, देश र सरकारप्रतिको विश्वसनीयता उत्तिकै खाँचो छ ।