काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ ।
केन्द्रीय कमिटी बैठक बस्ने पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी भएको हो । स्रोतका अनुसार बिहीबार बेलुकी ओली र नेपालबीच कुराकानी भएको हो ।
ओलीले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन्, तर उक्त बैठकमा माधव नेपाल समूह भने सहभागी नहुने निर्णय गरिसकेको छ ।
नेताहरुका अनुसार बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए । अध्यक्ष ओलीले पार्टी एकताका लागि प्रयास गरिरहनुभएको छ,’ उनले भने।
आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक गरिने उनले जानकारी दिए ।
अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने कुरा भएको नेपाल पक्षका नेता भीम आचार्यको भनाई छ । आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आफूहरूले माग गरिएको पनि आचार्यले बताए ।
‘बैठक स्थगित गरियो भने पार्टी एकताका लागि राम्रो सन्देश जान्छ। हामीले बैठक सार्न भनेका छौं यदी बैठक सरेन र बस्यो भने त त्यो गुटको बैठक हुन्छ र त्यो बैठकको के अर्थ छ र ?’ उनले भने । आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहहरुको भनाईछ । नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको छ ।
यो पनि…