काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आज सरकारी वकिलको बहस सकिँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रधानमन्त्रीको पक्षमा १३ जना कानुन व्यवसायीले बहस गर्दैछन् । उनीहरुका लागि छुट्याइएको समयमध्ये आज १ घण्टा ३० मिनेट मात्र बाँकी छ ।
सरकारी वकिलको बहस सकेपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सुरु हुँदैछ । सभामुख सापकोटाको तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संसद् पुनःस्थापनाको मागसहित सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए ।