गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुंगामा सवार व्यक्तिहरु चढेको डुंगा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए । सो डुङ्गामा अन्य उद्देश्यले यात्रा गरिरहेका यात्रुहरु भने नरहेको जनाइएको छ । यात्रुमध्ये केहीले मादक पदार्थ सेवन गरेको पनि समाचारमा जनाइएको छ ।
दुर्घटनापछि नौ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने ३० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँ वर्षको पूर्व सन्ध्यामा कोनाक्रीनजिकै रहेका द्वीपमा जाने समूहका लागि गैरकानूनी रुपमा डुङ्गाहरु बन्दोबस्त गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ । कतिपय पर्यटक र राजधानीवासी यस प्रकारका अवैध डुङ्गामा यात्रा गर्ने गरेका छन् ।