काठमाडौं । काठमाडौं उपत्यकाभित्र सरकारले निषेधाज्ञा जारी नै राख्ने तयारी गरेको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन् । सम्भवत आज बेलुकीसम्म बैठक बस्ने र थप खुकुलो बनाउँदै निषेधा थप गर्ने तयारी गरिएको छ ।
सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन् । पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ ।
थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए ।
‘आज अरू पनि बैठक छ। अरू सिडिओसाबहरूसँग सल्लाह गरेर बैठक बस्छौं,’ उनले भने, ‘कोरोना संक्रमण कम भएको छैन।’ गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो ।