काठमाडौं । नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका छन् ।
बालुवाटार बैठकको भोलिपल्ट बरिष्ठ नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वर पुगेका छन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि रहेको एक नेताले जानकारी दिए ।
शनिबार बालुवाटारमा अपरान्ह बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव पक्षलाई कारवाही गरिने बताएका थिए ।
वार्ताको भ्रममा नपर्न समेत ओलीले भनेका थिए । यही पृष्ठभूमिमा आइतबार बिहानै ओली पक्षका तीन नेताहरु माधव नेपालको निवासमा छलफलका लागि पुगेका हुन् ।
स्रोतका अनुसार शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पार्टी एकताको पक्षमा छन् । तर, केपी ओली, विष्णु रिमाल लगायतका नेताहरु भने हस्ताक्षर फिर्ता नलिए माधव नेपाल समूहलाई कारवाही कारवाही गरेर अगाडि बढ्ने पक्षमा छन् ।