Logo
Logo
संसद् विघटन प्रकरण

आज जवाफी बहसको निरन्तरता र एमिकस क्युरीको राय


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका आज (सोमबार) पनि वकिलहरुको जवाफी जारी रहने छ । संवैधानिक इजलासमा जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी समय छ ।

आज नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी छ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गरे भने सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैछन् ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । एमिकस क्युरीका लागि संवैधानिक इजलासले दुई घण्टा समय छुट्याएको छ । उनीहरुले आधा(आधा घण्टाको दरले २ घण्टा समय लिएर राय प्रस्तुत गर्नेछ ।

सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई(दुई जना एमिकस क्युरी छनोट गरिएको छ । संवैधानिक इजलासलाई मुद्दा सुनुवाइमा सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा राखिएको छ ।

वरिष्ठ अधिवक्ता वैद्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । त्यस्तै, वरिष्ठ अधिवक्ता पाठक नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष हुन् । एमिकस क्युरीले राय प्रस्तुत गरेपछि संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्