काठमाडौं । दाङमा अविरल वर्षापछि घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको छ ।
घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।
घाइते आमा(छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घटनास्थलबाट शिशुको शव निकालिएको छ । घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाई छ ।