काठमाडौं । अफगानिस्तानमा शुक्रबार कम्तीमा १०९ तालिबान लडाकुहरु मारिएका छन् । देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको सुरक्षा कारवाहीको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
मृत्यु भएकामध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरु आठ जना घाइते भएका थिए । शुक्रबार बिहान लडाकुहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकुको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् । अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ । लगातारका ठूला–ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौंको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
त्यसैगरी, लाखौँ अफगानीहरु विस्थापित भएका छन् । लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहे पनि अन्त्य हुन भने सकेको छैन ।