काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज फैसला दिन सक्ने सम्भावना छ । दुबै पक्षको बहस सकिइसकेको मुद्दामा संवैधानिक इजलासले यसअघि असार २१ गते आजका लागि पेसी तोकेको थियो ।
रिट निवेदकको बहस, सरकारी वकिलको बहस, रिट निवेदकको जवाफी बहस र एमिकस क्युरीका सदस्यहरूको राय दिने प्रक्रिया सबै सकिइसकेकाले आजको इजलासबाट फैसला आउने सम्भावना बढेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरियोस् भनेर १ सय ४६ जना सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेपछि सो विषयको लामै बहस संवैधानिक इजलासमा भैसकेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संविधानको धारा ७६ को ५ बमोजिम प्रतिनिधि सभाका बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको र संसदले सरकार दिने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको भन्दै रिट हालेका थिए ।
देउवाको रिटमा नेकपा एमालेका २३ जनासहित प्रतिनिधि सभाका १४६ जना सदस्यले अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।
सो मुद्दामा सर्वोच्च अदालतले दिने फैसलाले देशको भावी राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा निहित भएकाले अदालतको फैसलाप्रति आमचासो रहेको छ ।