काठमाडौं । ड्युटीकमा लापरबाही गरेको आरोपमा तीन प्रहरी निलम्बित भएका छन् । प्रहरी सहायक निरीक्षक, हबल्दार र प्रहरी जवानसहित तीन जनालाई आइतबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।
हिरासतका थुनुवा भागेको घटनामा उनीहरुलाई निलम्बन गरिएको हो । लागूऔषध ओासरपोसारका पटके कारोबारी सिराहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाका पशुपति यादव पछिल्लो पटक २६ असारको बिहान करिब २ बजेतिर झ्यालको ग्रिल फोडेर फरार भएपछि अनुसन्धानका लागि ड्युटीको जिम्मेबारीमा तीनजनालाई निलम्बन गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । उनका अनुसार जिल्ला प्रहरीले अनुसन्धानका लागि चार सदस्यीय छानबिन समिति गठन गरी फरार रहेका यादवको जिल्लाभरका प्रहरी युनिटहरुमार्फत् खोजलास गरिरहेको छ ।