काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया स्थगित भएको छ । प्रतिनिधिसभा विटघन भई कात्तिक २६ र मंसिर ३ गते तोकिएको निर्वाचन संसद् पुर्नस्थापना भएसँगै नहुने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैसलापछि निर्वाचन तयारी स्थगित भएको बताए ।
‘सर्वोच्चको फैसला आइसकेपछि निर्वाचन तयारी अघि बढाउने कुरा भएन,’ उनले भने, ‘संसद् पुर्नस्थापनासँगै निर्वाचन गर्नुपर्ने आवश्यकता रहेन, अब आयोगको बैठक बसेर निर्वाचन तयारी स्थगित गर्छ ।’ आयोगका अनुसार सर्वोच्चबाट फैसलाको लिखित जानकारी आउन बाँकी रहे पनि आयोगले प्राप्त जानकारीकै आधारमा तयारी स्थगित गरेको हो ।
आयोग प्रवक्ता श्रेष्ठले यसपाली निर्वाचनका लागि आयोगले केही तयारी अघि बढाएपनि आर्थिक रूपमा भने निर्वाचनकै लागि भनेर खासै खर्च भएको छैन । ‘निर्वाचनका लागि हामीसँग चार महिनाजति पर्याप्त समय थियो,’ उनले भने ‘त्यसकारण यसपाली निर्वाचन तयारीका लागि खासै खर्च भएको छैन।’ आयोगका अनुसार निर्वाचनका लागि अर्थमन्त्रालयले बजेट स्विकृत गरिसकेको थियो भने आयोगले आर्थिक कार्यविधि पनि स्विकृत भएको थियो ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।