काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको संघारमा छ । नेतृत्व हत्याउन विभिन्न समूह आन्तरिक अभ्यासमा छन् । कांग्रेसमा लामो विरासत बनाएको कोइराला परिवार इतिहास दोहोर्याउने दाउमा छ । सोहीअुसार छलफलहरु चलिरहेका छन् ।
कोइराला परिवारबाट वीपी पुत्र शशांक सभापतिका उम्मेदवार हुन् । उनले आफू सभापतिको उम्मेदवार रहेको भनिसकेका छन् । नोना कोइराला पुत्र शेखर र गिरिजा पुत्री सुजाताले पनि दावी गर्दै आएका छन् । तीनैजनाको चाहना कोइराला परिवारमै कांग्रेस नेतृत्व ल्याउनुपर्छ भन्ने हो । सोहीअनुसार कोइराला परिवारको छलफलले तीव्रता पाएको छ ।
शनिबार शशांक निवास महाराजगन्जमा कोइराला परिवारका शशांक, सुजाता र शेखरबीच साँझा उम्मेदवार बनाउनेबारे छलफल भयो । ‘लन्च मिटिङ’ भनिएको भेटमा शशांक, शेखर र सुजाताबीच यसपटक जसरी पनि नेतृत्व हत्याउनुपर्ने विषयमा छलफल भयो । तर, साँझा नेतृत्व को ? भन्नेबारे ठोस सहमति भएन ।
गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह पनि सभापतिका आकांक्षी हुन् । उनले छुट्टै अभ्यास गरिरहेका छन् । केही समयअगाडि शशांक, शेखर र प्रकाशमानबीच पनि ‘लन्च मिटिङ’ भएको थियो । त्यो मिटिङमा पनि संस्थापन पक्षबाट नेतृत्व खोस्नुपर्ने सहमति भयो । तर, संस्थापन इतरबाट को सभापति बन्ने ? भन्नेबारे ठोस निर्णय भएन ।
पुत्रहरुको बारम्बारको ‘लन्च मिटिङ’बाट सभापतिका बलिया उम्मेदवार मानिएका रामचन्द्र पौडेल भने आत्तिए । उनले ‘भुत्र मोर्चा’को कड शब्दमा विरोध नै गरे ।
शेरबहादुर देउवाबाट नेतृत्व फुत्काउने धेरैको दाउ छ । सभापति बन्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको पुरानै सपना हो । धेरैपटक सभापतिका लागि प्रयास गरेपनि असफल पौडेल यसपटक निर्णायक तयारीमा छन् । तर, यसपटक पनि सहज छैन । सभापति देउवालाई प्रधानमन्त्री र आफूलाई सभापति भन्दै आफ्नो तर्फबाट भागबण्डा लगाए पनि पौडेलका लागि सहज छैन ।
कृष्णप्रसाद सिटौला कांग्रेसका अर्का धार हुन् । अघिल्लो महाधिवेशनदेखि नै सभापतिको दावी गर्दै आएका सिटौला यसपटक पनि सभापतिका दावेदार छन् । तर, सिटौलालाई पनि सहज छैन । सिटौला प्यानलका गगन थापालाई महामन्त्रीको रुपमा सबैले रुचाए पनि सिटौलालाई नै सभापति मानिहाल्ने अवस्था बनेको छैन ।
सभापति शेरबहादुर देउवा स्वतः सभापतिका दावेदार हुन् । र, देउवा नै सबै हिसाबले बलियो उम्मेदवार पनि हुन् । यसपटक पनि देउवा इतरका सबै मिलेर साँझा उम्मेदवार बनाउन नसके देउवा नै सभापति दोहोरिने सम्भावना बलियो छ किनकि, सभापतिइतर मोर्चा बन्ने सम्भावना कम छ । आधाले पौडेल रोजे पनि आधा देउवासँगै रहन सक्छन् । त्यस्तो अवस्थामा देउवाको घनत्व बढी नै हुन्छ ।
यसरी हेर्दा महाधिवेशनको संघारमा नेतृत्व हत्याउन जति अभ्यास भएपनि देउवा नै सभापति दोहोरिने सम्भावना प्रवल देखिन्छ । त्यसो त तयारीको हिसाबले पौडेल पनि कमजोर होइनन । अर्कोपटक नेतृत्व हस्तान्तरण गर्ने सवालमा ‘पुत्र मोर्चा’ आफ्नो पक्षमा पार्न सके पौडेल सभापति हुन सक्छन् ।