Logo
Logo

किन घट्यो अख्तियारको सक्रियता, आठ वर्षयताकै न्यून मुद्दा


दृष्टि संवाददाता

1.3k
Shares


काठमाडौं । देशमा भ्रष्टाचार बढीरहँदा यसको छानबिन गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता भने घटेको छ । अघिल्लो आर्थिक वर्ष मुद्दा दायरमा नयाँ रेकर्ड बनाएको आयोगको पछिल्लो वर्ष सक्रियता घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा आयोगले चार सय ४१ वटा मुद्दा दायर गरेकोमा २०७७/७८ मा एक सय १० मा मात्र मुद्दा दायर गरेको छ । जून पछिल्लो आठ वर्ष यताकै न्यून हो ।


आर्थिक वर्ष २०७०÷७१ मा आयोगले एक सय ६८ मुद्दा दायर गरेको थियो । त्यसयता निरन्तर बढेर आयोग गत वर्ष इतिहासमै धेरै भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको थियो । यो वर्ष मुद्दा संख्या नौ वर्षयताकै कम भएको छ भने ठूला प्रकारका मुद्दा पनि दर्ता हुन सकेनन् । कोरोना महामारी लगायतका कारणले मुद्दा संख्या घटेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको भनाई छ । तर, गत आर्थिक वर्षमा आयोगको सक्रियता नै कम देखिएको आयोगकै अन्य कर्मचारी बताउँछन् ।


दायर भएकामध्ये धेरै सानो बिगो भएका मुद्दा छन् । एक सय १० मध्ये ६६ वटा मुद्दा घुससम्बन्धि छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दा भने तीन वटा मात्र दायर भएका छन् । अघिल्लो वर्ष यस्ता १४ मुद्दा दायर भएका थिए । गत वर्ष असोजयता गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दा दायर हुन सकेको छैन । जलस्रोत तथा सिंचाई विभाग, ललितपुरका सिडिई सुरेश कुमार शर्मा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा बलभद्र प्रसाद दास र संघीय आयोजना कार्यालय विराटनगरका तत्कालिन सिडिई काशीप्रसाद गुप्तासहित १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।


गत वर्ष दायर भएको सबैभन्दा ठूलो मुद्दा कर फस्यौट आयोगको हो । कर फस्यौटका नाममा बदनियतपूर्वक कर छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा आयोगले गत ९ असारमा मुद्दा दायर गरेको थियो । आयोगका तत्कालिन अध्यक्ष लुब्धध्वज महत र सदस्यद्वय उमेश ढकाल र चुणामणि शर्माविरुद्ध आयोगले एक अर्ब ३३ लाख २० हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । त्यसबाहेकको अर्काे ठूलो मुद्दा साविकको रोयल मर्चेन्ट फाइनान्सको हो । जून फाइनान्समा भएको हिनामिनामा १० वटा मुद्दा आयोगले दायर गरेको छ । अन्य मुद्दाहरु सामान्य प्रकृतीका छन् ।


एक वर्षको अवधिमा आयोगले ६४ वटा स्टिङ अप्रेसन गरेको छ । अघिल्लो वर्ष तीन सय ३१ वटा मुद्दा घुस÷रिसवतसँग सम्बन्धित थियो । अख्तियारले सञ्चालन गर्दै आएको स्टिङ अप्रेसनलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेपछि स्टिङ अप्रेसनमा कमी आएको छ । आयोगले आफैं घुस दिन लगाएर गरिने स्टिङ अप्रेसनलाई सर्वाेच्चले खारेज गरेको थियो । त्यसयता आयोगले सेवाग्राहीले आफ्नै पैसा घुस दिएको अवस्थामा मात्र स्टिङ अप्रेसन गर्न थालेको छ ।


गत वर्ष आयोगको नेतृत्वमा आएको फेरबदलका कारण पनि आयोगको सक्रियता घटेका एक अधिकारी बताउँछन् । गत भदौमा आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश पाएपछि आयुक्त गणेशराज जोशी कार्यवहाम प्रमुख आयुक्त भएका थिए । पछि गत माघदेखि प्रेम कुमार राईले प्रमुख आयुक्तका रुपमा काम गर्दै आएका छन् । नियुक्ति प्रक्रिया समेत विवादमा परेकाले पनि आयोगको नयाँ नेतृत्वले राम्रोसँग काम गर्न नसकेको आयोगकै एक कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्