काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू ‘एमालेमा नरहने’ बताएका छन् । पार्टीका आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका ओलीले उक्त भनाइले अब एमाले फुटतिर गएको संकेत गरेको छ ।
अध्यक्ष ओलीले देउवालाई विश्वासको मत दिए पार्टी नरहने बताएपनि बरिष्ठ नेता माधव पक्षले पक्षमा मत दिने भएका छन् । यससँगै एमाले विभाजनमा गएको हो । माधव पक्षले संसद जोगाउनका लागि भएपनि आफूहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णयमा पुगेका छन् ।
पार्टीभित्र वैचारिक रुपमा द्वन्द्व चर्किदै गर्दा माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका थिए । त्यसपछि ओली र माधव पक्षको विवाद उत्कर्षमा पुगेको हो ।
आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा एमाले एकताका लागि गठित कार्यदल ब्यूँताएको थियो । तर, ओलीले यसै साता कार्यदल समेत खारेज गरेपछि एमाले अनौपचारिक रुपमा विभाजनतिर गएको थियो । तर, एमालेका दोस्रो पुस्ताका नेताहरु भने अझैपनि एमाले एकताको पक्षमा छन् । उनीहरु एस्कताका लागि छलफलमा जुटिरहेका बेला प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको पहिलो बैठकमै आइतबार विश्वासको लिँदैछन् । यसलाई एमाले ओली पक्षले पार्टी फुटाउने दुराशय भएको ठहर गरेको छ ।
आइतबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताए । एमाले बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘यो निर्णयको विरुद्धमा गएर पार्टीमा बस्न सकिन्न । माधवकुमार नेपालले एक्लै भए पनि एउटा बिन्दुमा पुगेकाले प्रस्तावको पक्षमा मत हाल्ने कुरा गर्नुभयो ।’ तर, यसअघि नै अध्यक्ष ओलीले माधव नेपाललाई माफी दिन नसक्ने भन्दै एमाले विभाजनमा गएको संकेत गरेका थिए ।
बालुवाटारबाट विदाई भइ आफ्नो नीजि निवास बालकोट पुगेकै दिन ओलीले माधव नेपालप्रति खरो प्रहार गर्दै भनेका थिए, ‘लाजशरम पचेकाहरुको गल्ती स्वीकार्ने ठाउँ नै छैन ।’ तर, एमाले ओली पक्षका नेता तथा प्रवक्ता ज्ञवालीले भने माधव पक्षले एकता नचाहेको आरोप लगाएका छन् ।
उनले आइतबार स्थायी कमिटी बैठकपछि भने, ‘उहाँ (माधव नेपाल)को तर्फबाट विगतमा कार्यदलमा रहेका सदस्यले त्यसो नगर्न आग्रह गर्नुभयो । आफू अल्पमतमा रहेका बहुमतको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने भन्नुभयो । पार्टी एकताबद्ध बनाएर लैजान तयार देखिनुभएन ।’
उनले माधव नेपाल अर्कै कोर्समा हिँड्न खोजेको समेत बताए । ‘आजको बैठकपछि उहाँ बेग्लै कोर्समा हिँड्न खोज्नु भएको देखियो’ नेता ज्ञवालीले भने, ‘उहाँकै टिममै रहेका साथीहरूले त्यसरी जानु उचित हुँदैन भन्नुभयो । दश बुँदे सहमति भएपछि संस्थागत निर्णय गरेर जानुपर्छ । हामीसँग पनि सोध्नुभएको छैन भन्नुभयो ।’
अध्यक्ष ओली र नेता ज्ञवालीको यी भनाइले पनि अब एमाले विभाजनतिर ढल्किएको छ । अर्को कुरा माधव पक्षले देउवालाई विश्वासको मत दिने स्पष्ट बताइसकेको छ । सर्वोच्च अदालतले संविानको धारा ७६ (५) अन्र्तगत दलका सांसदलाई ह्वीप नलाग्ने आदेश जारी गरिसकेको छ ।
सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार विश्वास मत लिँदैछन् । तैपनि ओलीले देउवालाई मत दिने सांसदहरुलाई एकलौटी रुपमा पार्टीबाट निस्काशन गर्ने घोषणा गर्ने सक्नेछन् किनकि, प्रवक्ता ज्ञवालीले समेत देउवालाई विश्वासको मत दिनेहरु एमाले रहन नसक्ने बताएका छन् ।