Logo
Logo

यसरी पाए प्रधानमन्त्री देउवाले बहुमत सदस्यको विश्वास


दृष्टि संवाददाता

22.9k
Shares

काठमाडौं । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । नेकपा एमाले ओली पक्षका सांसद, माधवकुमार नेपाल समूहका पनि केही सांसदले मत दिएसँगै देउवाले बहुमतको विश्वास पाएका हुन् ।

यसरी जुट्यो देउवालाई बहुमत
प्रतिनिधि सभाको कुल संख्या २ सय ७५ हो । त्यसमा रिक्त संख्या ४ छ । जुन निलम्बित सांसदको संख्या हो । कुल मतमा निलम्बित सांसदको संख्या घटाउदा हाल कुल सांसद संख्या २ सय ७१ कायम हुन्छ । हाल कायम कुल संख्याको बहुमत संख्या १ सय ३६ हो । त्यसैले देउवालाई विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक थियो । तर, नाटकीय ढंगबाट उनले १ सय ६५ मत पाए ।

नेकपा एमालेसँग १ सय २१ मत थियाे। नेपाली कांग्रेसको ६१ र नेकपा माओवादी केन्द्रको ४९ मत थियाे। त्यस्तै, जनता समाजवादी पार्टीको ३२ (१७ उपेन्द्र यदको पक्ष) र (१५ महन्थ ठाकुर पक्ष)सँग मत थियाे । त्यसैगरी, नेपाल मजदुर पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनमोर्चा (राजमो)को एक–एक मत थियाे ।

तर, देउवाले ओली पक्षका सांसदबाट पनि मत पाए । पक्ष र विपक्ष नहेर्ने हाे भने देउवालाई एमालेका २२ सांसदले मत दिए । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।  एमालेकै माधव नेपाल पक्षका केही सांसदहरु भने आज अनुपस्थित थिए ।

विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्‍वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्