काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बिहान ११ बजे बस्दै छ । एमालेमा आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
पार्टींका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने भएका छन् । नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ ।
नेपालनिकट केन्द्रीय सदस्य मेटमणि चौधरीले एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा पनि आफुहरु सहभागी नहुने बताए । आफूहरू अझै पनि पार्टी एकतावद्ध बनाउन प्रयासरत रहेको विवाद कार्यदलमा सदस्य रहेका नेपालनिकट केन्द्रीय सदस्य गोकर्ण बिष्टको भनाई छ ।
बिष्टले भने, ‘हामी अहिले अप्ठेरोमा परिस्थितिमा छौं तर पार्टी एकतावद्ध बनाउन प्रयास गरिरहेका छौं ।’ आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेला बिष्टसहित नेपालनिकट १० सांसद संसद भवनबाट बाहिरिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।
पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।