Logo
Logo

मनिष सुमनले छोडे ठाकुरको साथ, यादवकै पक्षमा हस्ताक्षर


दृष्टि संवाददाता

8.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता मनिष सुमनले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको साथ छोडेका छन् । आज निर्वाचन आयोगमा पुगेर सुमनले अध्यक्ष उपेन्द्र यादवकै पक्षमा हस्ताक्षर गरेका छन् ।

प्रदेश २ का सांसद तथा तत्कालिन राजपाका महासचिवसमेत रहेका सुमन विगतमा ठाकुर र महतो पक्षका बलियो नेता थिए । जसपाभित्र आधिकारिता विवाद भएपछि निर्वाचन आयोगले आयोगमा उपस्थित भएर हस्ताक्षर गर्न भनेपछि सुमनले यादवको पक्षमा हस्ताक्षर गरेका हुन् ।

आयोगमा हस्ताक्षर गरेपछि दृष्टिन्यूजसँग कुरा गर्दै सुमनले भने– ‘पहिला पार्टी जोगाउँऔं । पार्टी नै एकताबद्ध हुन सक्दैन भने कसैको अस्तित्व रहदैन् । केन्द्रदेखी तल्लो तहसम्मका साथीहरुसँग मेरो अनुरोध छ, पार्टी एकताको पक्षमा उभिऔं ।’

हिजो (आईतबार) ठाकुर–महतो पक्षको बैठकमा सहभागि सुमनले आज यादवको पक्षमै हस्ताक्षर गर्दै पार्टी एकताबद्ध गर्न आग्रह गरेका हुन् । ठाकुर–महतो पक्षको हिजोको बैठकमा सहभागि सुमनले अन्य नेतालाई समेत पार्टी जोगाउँन भन्दै एकताकै पक्षमा उभिन आग्रह गरेका थिए । आफ्नो कुरा कसैले नमानेपछि आफ्नो विवेकको आधारमा मैले आयोगमा पुगेर पार्टीलाई जोगाउँन हस्ताक्षर गरेको हुँ, सुमनले भने ।

आयोगमा जारी हस्ताक्षरमा यादवको पक्षमा कार्यकारिणी समितिका ३५ सदस्य र ठाकुरको पक्षमा १६ सदस्य पुग्ने जसपा स्रोतको दावी छ । जसपा ५१ सदस्यीय कार्यकारिणी समिति छ ।

प्रतिक्रिया दिनुहोस्