Logo
Logo

कैलालीमा लागुऔषध ओसारपसारका गतिविधि बढ्दै

२२ दिनमा २६ जना, तीन वर्षमा तीन सय ९९ पक्राउ


हिक्मत बम

3.5k
Shares

धनगढी । सीमानाकासँग जोडिएको कैलाली जिल्लामा लागुऔषध ओसारपसारका गतिविधि बढ्दै गएका छन् । पछिल्लो समय जिल्लामा लागुऔषध ओसारपसारका गतिविधि बढ्दै गएको पाइएको हो । खुल्ला सीमानाकाका कारण लागुऔषध ओसारपसारका गतिविधिहरु बढ्दै गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ७ गते दुई सय ३० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित धनगढी उप—महानगरपालिका–३ बाट २१ वर्षीय शैलेस अवस्थी पक्राउ परे । साउन ६ गते पाँच ग्राम खैरो हेरोइन नामक लागुऔषधसहित भजनी नगरपालिका–१ महोन्याल सामुदायिक वनबाट वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमार पक्राउ परे ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा दैनिक जसो लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ गरिरहेका छन् । यसको असर युवा पुस्तामा पर्दै गएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार पछिल्लो २२ दिनमा २६ जना लागुऔषधसहित पक्राउ परेका छन् । असार १६ गतेदेखी साउन ६ गते सम्म २५ पुरुष र एक महिला गरी २६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

असार १६ देखिनै कैलाली प्रहरीको नेतृत्व प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीले सम्हालेका छन् ।
पछिल्लो समय कैलाली जिल्ला लागुऔषधको ट्रान्जिट बन्दै गएको छ । खुला सीमाका कारण लागुऔषध कारोबारीको रोजाइमा कैलाली पर्ने गर्दछ ।

पहाडी जिल्लाबाट उत्पादन हुने चरेस ठूलो मात्रामा भारत जाने गरेको र भारतबाट खैरो हेरोइन, नाइट्रोभेट, स्पास्मोप्रक्सोभन, अफिमलगायतका आगुऔषध नेपाल भित्रिने गरेको प्रहरीको जनाएको छ ।

तीन वर्षमा दुई सय ६१ मुद्दा, तीन सय ९९ पक्राउ

बढ्दै गएको लागुऔषधको समस्या प्रहरीका लागि पनि मुख्य चुनौती बन्दै गएको छ । तथ्यांकअनुसार लागुऔषधको कारोबार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा हुने गरेका छन्  । पछिल्लो तीन वर्षको अवधिमा दुई सय ६१ मुद्दामा तीन सय ९९ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७५/०७६ मा लागूपदार्थ सम्बन्धी ८७ मुद्दामा एक सय २७ जना पक्राउ परेका छन् । भने चार जना फरार छन् । लागुऔषध सेवन कर्ता दुई जनाले उपचारका क्रममा ज्यान गुमाए ।

आर्थिक वर्ष ०७६/०७७मा लागुऔषध सम्बन्धि ८३ मुद्दामा एक सय २८ जना पक्राउ परे । अघिल्लो आर्थिक वर्ष भन्दा ०७६÷०७७ मा मुद्दा सङ्ख्या एकले घट्दा पक्राउ सङ्ख्या एकले बढेको छ । यस्तै आर्थिक वर्ष ०७७÷०७८ मा सङ्ख्या केही बढेको छ । ९१ मुद्दा दर्ता भएकोमा एक सय ३२ जना पक्राउ परेको कैलाली प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

लुकीछिपी सेवन र ओसारपसार गर्नेको संख्या योभन्दा बढी हुनसक्ने प्रहरीको आकलन छ । ‘लागुऔषध नियन्त्रण मुख्य चुनौती हो, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘कारोबारी र सेवनकर्ताको सङ्ख्या बढ्दो गतिमा छ, सेवनकर्ताहरूलाई लागुऔषधले चुम्बकले फलामलाई ताने जसरी तान्छ, लागुऔषधको एक डोजले काम गर्न छोडे लगतै, अर्को डोज अनीवार्यरुपमा चाहिन्छ, कारोबारीहरूले छोटो समयमा धेरै रकम पैसा कमाउन सकिने भएकाले यसको कारोबार बढ्दै गएको हो ।’

दुव्र्यसनीको जालमा युवा जमात, घर परिवार पहिलो कारण

पछिल्लो समय युवापुस्ताहरुमात्रै हैन बालबालिकाहरू पनि लागुऔषधको सिकार भइरहेका छन् । विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थीनै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेको देखिन्छ । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ । लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बिचमै पढाई छोड्ने गरेको जनता राष्ट्रिय माध्यामिक सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले बताए । ‘हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष ८/१० बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्, शिक्षक चौधरीले भने, ‘विद्यार्थी फुर्सदिला भएका छन् । अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ ।’

प्रहरीको तथ्यांकअनुसार कैलालीमा लागुऔषध प्रयोग गर्नेहरूमा अधिकांश १६ वर्षदेखि २५ वर्षका युवायुवती छन् । खुला सीमानाका कारण सजिलै लागुऔषध पाइने भएकाले पनि युवायुवती यसको दलदलमा फस्ने गरेको मानसिक तथा नशा रोग विशेषज्ञ डा.गणेश खड्का बताउँछन् ।

साथी भाइहरूसँग हुँदा लहैलहैमा नाइँ भन्न नसकेर यसको दुव्र्यसनीमा फस्ने गर्छन्, पछि चाहेर पनि निस्कन सक्दैनन्, डा. खड्काले भने, ‘त्यसैले लागुऔषध नियन्त्रणमा लिन यसको सेवनबाट नै जोगाउनुपर्छ ।’ त्यस्तै अर्को कारण भनेको देखासिखी भएको भएको समेत उनले बताए ।

लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्नुको पहिलो कारण घर परिवारनै भएको प्रहरीको भनाई छ । लागुऔषध ओसार–पसार तथा सेवनमा युवापुस्ता बढी सक्रिय छन्, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अभिभावकले छोराछोरीको हेरचाह गर्न नसक्नुनै पहिलो कारण हो, आफ्ना नानीबाबुका हरेक गतिविधिमा निगरानी राख्नुप¥यो, नराम्रा जुनसुकै क्रियाकलापबाट मुक्त राख्नु प¥यो, उनीहरूको सङ्गतको सँग छ ? के के गर्दछन् ? कहाँ–कहाँ जान्छन् ? त्यो सबै कुराहरु अभिभावकले नै हेरेर उनीहरूलाई सहि बाटोमा देखाउनुपर्छ ।’

यसको नियन्त्रणका लागि व्यक्ति, समाज र सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।

खुल्ला सीमा मुख्य चुनौती
कैलाली जिल्ला लागुऔषध नियन्त्रण चुनौतीका रुपमा देखिनुको पहिलो कारण खुल्ला सीमा हो । भारतसँग जोडिएको कैलालीको एक सय एक किलोमिटर क्षेत्रमा खुल्ला सीमाना छ । जहाँबाट सजिलै लागुऔषधको ओसारपसार हुने गरेको छ । उसो त केही क्षेत्रमा सशस्त्र प्रहरीको विओपी राखिएको छ तर त्यसले लागुऔषध नियन्त्रण गर्न सकेको छैन ।

खुला सीमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दै छ, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘लागुऔषधकै कारण जघन्य अपराध हुन्छ । हत्या, हिंसा, बलात्कार, चोरी–डकैतीजस्ता क्रियाकलापमा लागुऔषधमा पसेकाहरुनै संलग्न भएको पाइन्छ । यसमा महिलाको संलग्नता पनि बढ्दै गइरहेको छ ।’

एक्सनमा प्रहरी
लागुऔषध नियन्त्रणका लागी कैलाली प्रहरीले निगरानी बढाएको छ । असार १६ यता कैलाली प्रहरी प्रमुखको जिम्मेवारीमा प्रहरी उपरीक्षक विश्व अधिकारी छन् । आफ्नो कार्यकालमा कैलालीमा लागुऔषध नियन्त्रणमा लिने दाबी गरेका छन् । ‘मैले जिम्मेवारी सम्हालेको एक महिना पनि पुगेको छैन, तर यो अवधिमा पनि हामीले तीन दर्जन बढीलाई समातेर अनुसन्धान गरिरहेका छौँ, उनले भने, ‘ओसार पसारकर्ता र सेवनकर्ता प्रहरीबाट बच्न सक्दैन हामी एक्सनमा छौँ ।’

लागुऔषध नियन्त्रणका लागि एसपी अधिकारीको नेतृत्वमा कैलाली प्रहरीले ‘भविष्य बचाउ’ अभियान सञ्चालनमा ल्याएको छ । ‘हामीले सीमानाकामा गस्ती बढाएका छौँ, जनचेतनामूलक कार्यक्रममा जोड दिएका छौँ, उनले भने, ‘भविष्य बचाउ’ अभियान अन्तगत हामीले जनचेतनामूलक कार्यक्रम र सेवनकर्ता र कारोबारीलाई नियन्त्रणका समुदायसँग छलफल गछौँ । हामीले समुदायमा बढीभन्दा बढी प्रहरीका साथी बनाएका छौँ, जसले गर्दा अपराधीलाई नियन्त्रणमा लिन सहज हुन्छ ।’

पछिल्लो केहि समय यता कैलालीमा लागुऔषधको ओसारपसारका गतिविधि बढ्दै गएका कारण कैलाली मात्र नभई सुदूरपश्चिमका युवाहरुनै लागुऔषधको सिकार बन्दै गएको देखिन्छ । लागुऔषध ओसारपसारका गतिविधिहरु नियन्त्रण गर्नका लागि घरपरिवारबाटनै यसको अभियान थाली सरोकारवाला निकाय स्थानीय सरकार, प्रहरी कार्यालय र सम्बन्धित संघसंस्थाहरुले जनचेतनामूलक युवा लक्षित कार्यक्रमहरु गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्