काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट एकताको नाममा अर्को पक्षलाई अझै पनि आत्मसमर्पण गर्न निम्तो दिइरहेका छन् । आममाफीको कुरा गरेर माधव नेपाल समूहलाई चिढ्याइरहेका छन् । एमालेको विवाद मिलाउन दुई पक्ष जुटेको बेला पार्टीको अध्यक्षजस्तो जिम्मेवार नेताले यस्तो शब्दवाण प्रयोग गर्नु राम्रो होइन, गल्ती आफूले गर्ने दोष जति माधव नेपालमाथि थोपर्ने कामले पार्टी एकता नदीको दुई किनार जस्तो भएको छ ।
हिजो बसेको माधव नेपाल समूहको स्थायी कमिटी बैठकले एकताका लागि थप एक हप्ता प्रयास गर्ने निर्णय गर्यो । माधव नेपाल समूहको सबै माग पूरा भएमा अर्को हप्ता पार्टी एकताले सकारात्मक मोड लेला । माधव नेपाललाई विधान संशोधन गरेर दोस्रो अध्यक्ष बनाउने कुरा सहमतिमा पुग्यो भने दोस्रो अध्यक्षमा माधव नेपाल आफू नजाने र पार्टीकै अरु नेतालाई पठाउने ‘मुड’मा भएको कुरा नेपाल निकट स्रोतले दृष्टिलाई बताएको छ ।
आइतबार एमाले सांसदहरुले कार्यदलका सदस्यहरुसँग छलफल गर्ने क्रममा ओलीपक्षीय सदस्यहरु एकताका निम्ति सकारात्मक देखिए पनि त्यहाँ छलफल चल्दाचल्दै ओलीले एक भर्चुवल बैठकलाई सम्बोधन गर्दा एकतामा सबै अट्ने कुरामा आफूलाई विश्वास नभएको बताएका थिए । अर्थात्, माधव नेपालबिनाको एकताको चाहना उनले आइतबार पनि व्यक्त गरे । त्यस्तोखाले एकतालाई एकताको नाममा जालझेल भनेर बुझ्नुपर्ने माधव समूहको निश्कर्ष छ ।
ओली पक्षले ०७५ जेठ २ मा फर्किने कुरा मौखिक र लिखतमा स्वीकारेजस्तो गरे पनि व्यवहारतः त्यसमा तयार नभएपछि माधव नेपाल पक्षले अहिले ‘अन्तिम माग’ अगाडि सारेको छ । हरेक प्रशासनिक तथा राजनीतिक निर्णयमा संयुक्त हस्ताक्षर हुनुपर्ने । निर्वाचन आयोग, संसद र सरकार सञ्चालनसम्बन्धी विषयमा हुने प्रत्येक निर्णयमा अध्यक्ष ओलीसँगै वरिष्ठ नेता नेपालको पनि हस्ताक्षर हुनुपर्ने अडान छ । उक्त मागप्रति स्वयं ओली सकारात्मक भएका छैनन् । विधान अधिवेशन गरेर उक्त प्रस्ताव पारित गर्ने र दशौं महाधिवेशनसम्मको संक्रमण व्यवस्थापनका निम्ति दुई अध्यक्षको व्यवस्था गर्नुपर्ने अन्तिम माग अबको केही दिनभित्र पूरा भएन भने माधव नेपाल पक्षले तत्कालका लागि नयाँ दल घोषणा गर्ने सम्भावना छ ।
ओली गुट छोड्ने एमाले सांसदहरुको संख्या बढ्दो छ । माधव पक्षलाई दल विभाजनका लागि आवश्यक ४० प्रतिशतभन्दा बढी संख्या पुगिसकेको बताइएको छ । दल विभाजनको गोप्य कागजमा हस्ताक्षर गरिसकेको स्रोतको भनाइ छ ।
एमाले स्रोतका अनुसार, केपी ओलीले माधव नेपालसँग भेट्न चाहेको एक हप्ता भयो । तर, माधवले केपीको प्रस्तावलाई वेवास्ता गर्दै आएका छन् । केपी–माधव भेट्घाटका लागि सुवास नेम्वाङ र भीम रावलले निक्कै प्रयास गरे । तर, माधवले आफ्ना प्रस्तावहरु स्वीकार गरेर, त्यसलाई कार्यान्वयन गर्ने विश्वसनीय वातावरण नबनेसम्म ओलीसँग नभेट्ने खबर पठाएको स्रोतले दृष्टिलाई बताएको छ ।
गत विहीबार विहानै सुवास नेम्वाङमार्फत केपीले माधवलाई भेट्नका लागि समय मागेका थिए । तर, त्यही दिन दिउँसो पुष्पलाल स्मृति दिवसको एक कार्यक्रममा बोल्दै केपीले एकतामा आउन चाहनेलाई ‘आममाफी’ दिएको भनेपछि माधवले भेट्न चाहेनन् । भोलिपल्ट पनि माधवलाई भेट्नका लागि केपीका दूतहरुले खबर पुर्याए । तर, त्यसदिन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित कार्यक्रममै ४ बजेसम्म बसेर माधवले केपीको चाहनालाई वेवास्ता गरिदिए । अघिल्लो दिन केपीले घोषणा गरेको ‘आममाफी’ लाई व्यंग्य गर्दै माधवले भने, ‘महाराजधिराजबाट आममाफी हुकुम भयो, हामी खुशीले गद्गद् भयौँ, एमनेष्टी इज ग्रान्टेड…।’
सर्वोच्च अदालतले असार २८ गते गरेको फैसलापछि ओली गुटलाई छोड्ने एमाले सांसदहरुको संख्या बढ्दो छ । माधव नेपाल पक्षलाई दल विभाजनका लागि आवश्यक पर्ने ४० प्रतिशतभन्दा बढी संख्या पुगिसकेको एमाले स्रोतले बताएको छ । ती सांसदहरुले दल विभाजनको गोप्य कागजमा हस्ताक्षर गरिसकेको स्रोतको भनाइ छ । अब कुनै पनि बेला माधव पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता वा दर्ता भएकै दलमध्ये कुनै दलमा प्रवेश गरेको सूचना आयोगलाई दिन सक्ने अवस्था छ ।
त्यसपछि ओली बालकोटको बार्दलीबाट कुर्लनुको केही अर्थ रहन्न । यदि, ओली पक्षले संयुक्त हस्ताक्षरको मागलाई यो साताभित्र स्वीकार नगरेको अवस्थामा माधव पक्षले चाल्ने निर्णायक कदममा केही नेताहरु छुट्ने र धेरै नेताहरु अट्ने आंकलन गरिएको छ । ओलीतिर रहेका कतिपय नेताहरु माधव पक्षमा र माधव पक्षका कतिपय नेता ओली गुटमा जाने विषयमा दुवै समूहभित्र अनुमान र सम्भावनाबारे चर्चा हुन थालेको छ ।
माधव पक्षले योगेश भट्टराई, भीम आचार्यसहितका नेता उक्त समूहको निर्णायक कदममा समावेश हुने आशा गरेको छैन । अर्कातिर, ओली पक्षले भीम रावलले माधव नेपाललाई छाड्ने कुराको विश्वास गर्न सकेका छैनन् । सुरेन्द्र पाण्डेले एमाले र सूर्य चिन्हका नाममा ओली कित्ता रोज्दा चितवनमा जगन्नाथ थपलियाहरुको पेलानमा पर्ने खतरा विद्यमान रहने भएका कारण उनी माधव समूहको निर्णायक कदममा जाने विश्लेषण गरिएको छ । बीचमा ओली समूहमा लागेका चितवनका पार्टी अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले माधव खेमा रोजिसकेका छन् ।
योगेश ढुलमुल
यसरी ‘उधरका माल इधर–इधरका माल उधर’ भनेजस्तो एमाले विवादमा यता–उता गर्ने नेतामध्ये कोसँग कति जनशक्ति छ भन्नेबारे पनि दुवै समूहहरु हिसाब निकाल्दै छन् । ओली पक्षले योगेशले माधव समूह छाड्दा आफूतिर कति फाइदा पुग्छ भन्ने हिसाब निकालेको छ । उनको सिफारिसमा १३ दिने मन्त्री खाएका सिन्धुलीका गणेश पहाडी विभिन्न नेतामार्फत माधव नेपालसँग फर्किने प्रयास गरिरहेका छन् । योगेशनिकट मानिनेमध्ये कञ्चनपुरका सांसद दीपकप्रकाश भट्ट अहिले स्पष्टसँग माधव समूहमा छन् । दाङका हिराचन्द्र केसीले विश्वासको मत दिने बेलामै आफूलाई स्पष्ट उभ्याएका छन् । माधव नेपाल स्वयंले ‘माधव समूह’ छाड्दा पनि पछाडि नहट्ने गरी रामकुमारी झाँक्री अगाडि बढेकी छन् । त्यसैले योगेश ओलीतिर गएमा उनी एक्लो हुने निश्चित भएको छ । यसअघि भीम रावललाई सुदूरपश्चिमका सांसदहरुको टोलीले राजीनामा दिएर भाग्ने काममा साथ दिन नसकिने भनेपछि उनले राजीनामा फिर्ता लिएका हुन् । भीम आचार्य ओलीतिर लागे पनि उनीसँग त्यता जाने गतिलो नेता कोही पनि छैनन् ।
दोस्रो पुस्ता जोखिममा
एमाले विवादले दोस्रो पुस्ताका नेताहरुको राजनीतिक भविष्य जोखिममा परेको छ । केपी र माधव गरी दुवै समूहबाट विवाद समाधानका लागि गठित कार्यदलमा रहेका ती नेताहरुले न विवाद समाधानको विश्वसनीय वातावरण बनाउन सके, न बाटो अलग–अलग गर्न नै सके । विशेषतः माधव समूहको नाममा कार्यदलमा रहेका नेताहरुको अलमलका कारण उनीहरुको भविष्य बढी जोखिमयुक्त बनेको हो । उनीहरु ओलीसँग गए भने पनि तिनका स्थानीय अन्तर्विरोध थाँती नै रहने अवस्था हुन्छ । त्यो अवस्थामा ओलीले आफ्ना मान्छे छाडेर माधव समूहबाट आएका मान्छेलाई बोक्ने कुरा हुँदैन । न त ती–ती ठाउँका ओलीपक्षीय नेताले नै तिनलाई स्वीकार गर्छन् । अर्कातिर, उनीहरु माधव समूहमै रहने भए पनि माधव नेपालसहितका उक्त समूहमा प्रतिवद्ध नेताहरुले तिनलाई विश्वास गर्ने अवस्था रहँदैन । उदारहणका लागि, नयाँ पार्टीको महासचिव सुरेन्द्र पाण्डेलाई बनाउने भनियो भने त्यो कुरा रघु पन्त, डा.विजय पौडेल, बेदुराम भुषालहरुले मान्दैनन् । अनि, ओलीले निर्वाचित महासचिव ईश्वर पोखरेललाई वेवास्ता गरेर विष्णु पौडेललाई अगाडि सारिरहेको अवस्थामा ईश्वरसँग महासचिव हारेका सुरेन्द्रलाई महत्व दिने सम्भावना पनि रहँदैन । मानौँ कि, योगेश भट्टराईले ‘अब माधवसँगै काम गर्छु’ भनेर फर्किए भने जगन्नाथ खतिवडा, राजेन्द्र राईहरुले नै उनलाई स्वीकार्ने अवस्था हुँदैन । त्यसैले दोस्रो तहका पनि माधवपक्षीय भनेर चिनिएका र अहिले ढुल्मुलिएका नेताहरुको दयालाग्दो भविष्यप्रति माधव समूहमा ठूलो चिन्ता छ ।
अब तेस्रो पुस्ता उत्साहित
अहिलेको एमाले विवादमा दुवै समूहका तेस्रो पुस्ताका नेताहरु उत्साहित छन् । किनभने, अहिले नेतृत्वमा रहेको पहिलो पुस्ताका नेताहरु झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वामदेव गौतम, अमृतकुमार बोहोरा, सुवासचन्द्र नेम्वाङहरुले पार्टी वा सरकारको नेतृत्वमा जाने भनेको अबको पाँच÷सात वर्षमात्रै हो । त्यसपछि स्वाभाविक रुपमा नेतृत्वमा स्थापित हुनुपर्ने दोस्रो पुस्ताका नेताहरुले पार्टी विवादको संगीन घडीमा आफूलाई स्पष्टसँग उभ्याउन नसक्दा उनीहरुले पार्टीपंक्तिमा लोकप्रियता र विश्वसनीयता गुमाएका छन् । यसकारण एमालेमा पहिलो पुस्ताको विस्थापनपछि सीधै तेस्रो पुस्ता हावी हुने स्थिति बनेको विश्लेषण गर्न थालिएको छ ।
केपी ओलीको शव्दजालमा अल्मलिएर माधव नेपाललाई एकताको नाममा लतार्ने प्रपञ्च बुझेपछि स्वयं माधवले कार्यदलको आफूपक्षीय सदस्यहरुलाई आ–आफ्नो निर्णय लिन स्वतन्त्र भएको जनाऊ दिएका छन् । माधव निकट स्रोतका अनुसार उनले विद्यमान स्थितिमा आफू एकतामा नजाने, तर जेजस्तो भए पनि एकता गर्नुपर्छ भन्ने कसैलाई लागेको छ भने त्यस्ता साथीहरु आफ्नो निर्णय लिन स्वतन्त्र भएको बताएका छन् । ओलीले संयुक्त हस्ताक्षरको प्रस्ताव नस्वीकारेको अवस्थामा पनि एकता गर्नुपर्छ भन्नेहरुलाई माधवले शुभकामनासहित आफ्नो समूहबाट बिदा दिइसकेको चर्चा छ ।