जीवन र मरणको बारेमा कसले भविष्यवाणी गर्न सक्छ र ? जीवनमा कहिले अन्तिम विश्राम लिनुपर्ने हो भन्नेबारेमा कसले जान्दछ र ? तर सत्य कुरा यही हो, यो धर्तीमा जन्मेका जो सुकैले पनि अन्तिम बिदाइको लागि तयार हुनैपर्दछ । फरक यति मात्र हो कसैको बिदाइमा मानिसहरुले गुण सम्झन्छन्, दुःख मान्छन्, गहभरि आँशु पोख्छन् । सावित्री बोहराको जीवनको अन्त्यको खबरले पनि उनीलाई चिन्ने र जान्ने जतिले उनको जीवन र जीवनसित जोडिएको संघर्षशील क्षणहरुलाई सम्झेका छन् । हार्दिक श्रद्धाञ्जली सावित्री
सावित्री बोहराको बुबा जगतबहादुर बोहरा वि.सं. २०२६ सालतिरै कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर काम गर्दै आउनुभएको थियो । पारिवारिक कारणले सावित्रीको लागि राजनीतिक कुरा एकादेशको कथा बन्नु परेन । त्यसमाथि पनि उनी जन्मेको गाउँ जगतपुरलगायत धेरै गाउँहरु सामन्ती शोषणको दबदबामा परेका थिए । नेपाली टेलिश्रृंखला ‘अविरल बगिरहेछ इन्द्रावती’ मा जस्तै । पञ्चायतको जय र राजारानीको जय भन्नुबाहेक राजनीतिक स्वतन्त्रताको उज्यालो ती गाउँहरुमा पुगेको थिएन । महिलाहरुमा स्वतन्त्रता थिएन । घाँस, दाउरा र चुलाचौका नै उनीहरुको जीवनको मुख्य जिम्मेवारी थियो ।
वि.सं. २०३३ साल चैत १२ गते झापा विद्रोहका केही क्रान्तिकारीहरु र २०३२ सालको पर्चा काण्डपछि जेल परेका कम्युनिष्ट क्रान्तिकारीहरुले ललितपुरको नख्खुजेल ब्रेक गरेपछि केही राजनीतिक बन्दीहरु जेलबाट भाग्न सफल भए । भागेका ती राजबन्दीहरुलाई बाहिर बसेका साथीहरुले सुरक्षा दिए ।
चन्द्रप्रकाश मैनालीलाई काठमाडौँमा र वीरबहादुर लामामार्फत केहीलाई मकवानपुरको फाखेलमा, प्रदीप नेपाललाई लुम्बिनीमा व्यवस्थापन गरिएको थियो भने, कोही भारतमा पुगेका थिए । अमृतकुमार बोहराको माध्यमबाट माधव पौडेललाई सिन्धुपाल्चोक लगेपछि २०३३÷३४ सालतिर सिन्धुपाल्चोकको पिस्करमा सेल्टरको व्यवस्था गरेका थिए । पार्टीको जिम्मेवारीको सिलसिलामा २०३४÷३५ सालतिर सावित्रीको पार्टी सम्पर्क माधव पौडेलमार्फत भएको थियो । पारिवारिक कारणले राजनीतिका कुरा केही न केही रुपले बुझेकी सावित्रीले अब विस्तारै पार्टी कामको जिम्मा पनि लिन थालिन् ।
पार्टी काम गर्न पनि शिक्षाको ठूलो महत्व थियो । विसं २०३८ सालमा माधव पौडेलको सल्लाहमा छब्बिस, सत्ताइस वर्षको उमेरमा उनी बाह्रबिसेको सुनकोशी माध्यामिक बिद्यालयमा ८ कक्षामा भर्ना भइन् । ८ कक्षामा भर्ना त भयो, तर उनले राम्रोसँग क, ख र क, का पनि लेख्न सकेकी थिइनन् । तर उनले हिम्मत हारिनन्, खुब मेहनत गरिन् ।
पढाइको साथसाथै उनले राजनीतिक जीवनलाई पनि सक्रिय पारिन् र जिल्लाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटीको सदस्य पनि भइन् । विसं २०३५/३६ को आन्दोलनपछि देशमा बहुदल कि निर्दल भन्ने विषयमा जनमत संग्रहको घोषणा भएपछि देशका विभिन्न स्थानहरुमा खुला राजनीतिक गतिविधिहरु सञ्चालन भए ।
सिन्धुपाल्चोकका गाउँहरुले पनि राजनीतिक गतिविधिहरु खुलेर अघि बढाउन थाले । विसं २०३७ सालमा अनेरास्ववियुको पहिलो सम्मेलनको आयोजना चौताराको कृष्ण मन्दिरमा भएको थियो । अर्धभूमिगत ढंगले गरेको विद्यार्थीहरुको त्यस सम्मेलनमा स्थानीय किसानहरुसमेतको उपस्थिति थियो । सांस्कृतिक कार्यक्रमसहितको त्यो सम्मेलन भव्यतापूर्वक सफल भयो ।
तर, चारैतिर प्रहरीहरुको ठूलो तैनाथले गाउँ र जिल्लाभरि आतंक फैलिएको थियो । सो कार्यक्रममा युवा विद्यार्थीहरुमा टंक कार्की, गौरी प्रधान, अरुण नेपाल, सरेश नेपाललगायतका युवाहरुको नेतृत्व र सहभागिता रहेको थियो । त्यसको तीन वर्षपछि वि.सं. २०४० सालमा अनेरास्ववियुको दोस्रो जिल्ला सम्मेलन शारदा माविमा आयोजना गरिएको थियो । तर यो पल्ट पहिलो सम्मेलन जतिको सुखद् हुन पाएन । प्रहरीले प्रतिशोधमा तत्काल गोली चलायो । कैयौँ घाइते भए ।
सम्मेलनस्थल भताभुङ्ग पार्नुका साथै कैयौंलाई पक्राउ गरे र कैयौंलाई वारेन्ट काटे । अनेरास्ववियूको अध्यक्ष टंक कार्की र कोषाध्यक्ष गौरी प्रधानलाई त्यहाँका पार्टीले स्थानिय जनताहरुको सहयोग र सुरक्षामा सुनकोशीको किनारै किनार हिँडाएर लामोसाँघुको एक सेल्टरमा पुर्याए । गोली लागेको एकजना किसानलाई पनि त्यही सेल्टरमा पुर्याइयो ।
त्यो घटनाको लगत्तैपछि माघ १ गते माघेसंक्रान्ति मनाउन किसानहरु पिस्करमा भेला भए । त्यहाँ सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको थियो । हरेक गतिविधिलाई राजनीति मात्र देख्ने पञ्चायती तानाशाही सरकारले त्यो कार्यक्रममाथि निर्मम दमन गर्ने योजना बनायो । पिस्करमा भेला भएका किसानहरुमाथि गोलीको वर्षा भयो । इली थामी र वीरबहादुर थामीको घटनास्थलमै मृत्यु भयो ।
सावित्रीको बुबा जगतबहादुर बोहराको हात गोलीले तीन टुक्रा भयो । पाल्कमाया थामी र साङडोल्मा लामालाई पनि गोली लागेको थियो । प्रहरीले गोली लागेका नौ जना र सोना तामाङ, राजु थामी, मेघनाथ पौडेल, छत्रबहादुर बोहरा, मानबहादुर थामी, सावित्री बोहरालगायत दर्जनौं व्यक्तिलाई पक्राउ गर्यो । त्यसै घटनामा पक्राउ परेकी सावित्री पाँच वर्षसम्म जेल बस्नुपर्यो । जेलबाटै उनले एसएलसी परीक्षा पास गरिन् ।
उनीले सधैँ बुबाको राजनीतिक आचरणलाई अनुशरण गरिन्, आमालाई सयोग गरिन्, बहिनी सुशीला, भाइ कृष्ण र रमेशलाई हौसला दिइन् । उनले जोसँग जुन बेला काम गरिन् उनीहरुसँग आफूलाई एक जुझारु, विद्रोही, लडाकु, सक्रिय, मेहेनती महिलाको रुपमा परिचय छोडिन् ।
सावित्रीको जीवनको यात्रा यतिमै मात्र सीमित भएन ।
पढाइमा अब्बल बनेकी उनीले स्टाफ नर्स पास गरिन् र बिरामीहरुको सेवा तनमनले गर्न थालिन् । उनको बिहे अछामका युवा भैरव रावलसँग भयो । तर समय कसको नियन्त्रणमा छ र ? उनी विस्तारै डाइबेटिज, किड्नी, कलेजोको बिरामीबाट गल्दै गइन् । त्यसमाथि कोरोना–१९ को बोझ पनि थपिन पुग्यो र उनीले यो संसारबाट विबदा लिइन् । हार्दिक श्रद्धाञ्जली !