काठमाडौं । उनीहरूले हामीले बोलेको सुन्न सक्दैनन् । आमाबुवाले माया गरी बोलाएको, रिसाएर बोलाएको, गाडी गुडेको, साथीभाइ हाँसेको कुनै आवाज सुन्न सक्दैनन् । आवाजको दुनियाँसँग उनीहरू बिल्कुलै बेखबर छन् । आवाज सुरिलो, कर्कश, रुखो होस्, उनीहरूका लागि मौनताबराबर हो । आवाज कस्तो हुन्छ भन्ने अनुभूति नै नभएपछि उनीहरूले आवाजलाई व्यक्त गर्ने कुरै भएन । उनीहरू बोल्न सक्दैनन् ।
यो दृश्य सिरहाको बहिरा आधारभूत विद्यालयको हो, जहाँ ८५ बालबालिका पढ्छन् । चोहर्वा–सिरहा–माडर सहायक सडकको पूर्व छेवैमा बहिरा विद्यालय छ। त्यहाँ श्रवणशक्ति गुमाएका र बोल्न नसक्ने विद्यार्थी सांकेतिक भाषामै पढाइ गर्छन् । उनीहरू राष्ट्रगान पनि सांकेतिक भाषामै गाउँछन् । कोही पढाइमा अब्बल छन्, कोही अतिरिक्त क्रियाकलापमा। ७५ जना छात्रावासमा बस्छन् । बाँकी दैनिक आउनेजाने गर्छन् ।
सञ्जय दास यही विद्यालयबाट पढेका विद्यार्थी हुन् । अहिले उनी यही विद्यालयमा पढाउने शिक्षक छन् । बिहानदेखि बेलुकासम्म बालबालिकासँग समय बिताउनु उनको दैनिकी हो । बालबालिकालाई पठनपाठनमा बाधा नपुगोस् भनेर विद्यालयहरू प्रायः शान्त ठाउँमा राखिन्छ । तर, बहिरा विद्यालय भने सडकछेउमै छ । चोहर्वा–सिरहा खण्डका हजारौं सवारी चर्को आवाजमा कुद्छन् । तर, कक्षा चलाउन कुनै समस्या छैन । विद्यार्थी ‘डिस्टर्ब’ मान्दैनन् । अन्य स्कुलमा जस्तो केटाकेटी होहल्ला गरेको, साथीलाई बोलाएको सुनिँदैन । यहाँ कान नसुन्ने बालबालिका मात्रै अध्ययन गर्छन् ।
२०५४ सालमा स्थापित सो विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । ७८ छात्र र १७ छात्रा छन् । उनीहरू सबैजना मनले सुन्छन् र संकेतले संवाद गर्छन् । अरू विद्यालयजस्तै यहाँ पनि परेड, व्यायाम र राष्ट्रगानबाट दिनको सुरुवात हुन्छ । विद्यार्थी सांकेतिक भाषामै राष्ट्रिय गान गाउँछन् । प्रधानाध्यापक भोलाप्रसाद यादवका अनुसार २०५२ सालमा चार बालबालिका जुटाएर सिरहा बजारको भाडाको घरमा सुरु भएको पठनपाठन दुई वर्षपछि विद्यालयमा रूपान्तरण भयो । १४ बालबालिकालाई राखेर पूर्वप्राथमिक कक्षा (१ देखि ३) सञ्चालन गरियो। त्यसका लागि सांकेतिक भाषाको तालिम लिएका दुई शिक्षक नियुक्ति गरिए।
ती बालबालिकालाई पढाउन लाग्ने सम्पूर्ण खर्च सिरहा बहिरा संघले बेहोथ्र्यो । उमेर पुगेका विद्यार्थीलाई साक्षर बनाउन सांकेतिक भाषा सिकाएर विभिन्न तालिम दिइन्थ्यो । २०६३ सालमा जिल्ला शिक्षा कार्यालयले प्रावि शिक्षकसमेतको राहत कोटाको दरबन्दी उपलब्ध गराई बहिरा विद्यालयको स्वीकृति दियो।‘कोही धेरै चकचक गर्छन्, कोही शान्त बस्छन् ।
कोही हँसीमजाक गर्छन् । कोही सुन्दर चित्र बनाउँछन्,’ प्रधानाध्यापक यादवले भने, ‘कोही गणितमा अब्बल छन्, कोही नेपालीका कथा, कविता रुचाउँछन्।’ कक्षा ५ मा अध्ययनरत राजु सधैं चित्र कोर्छन् । कक्षा ८ का काजल मण्डल, नितुकुमारी साह पढाइमा बढी रुचि राख्छन् । यहीँ पढेर अहिले शिक्षक बनेका सञ्जयकुमार दास विद्यार्थीहरू तेजिलो मस्तिष्कका रहेको बताउँछन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।