धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्वर १ का किम्तोला–मिलनपुरबासी बत्तीमूनीको अध्याँरोमा बस्न बाध्य भएका छन । स्थानीयस्तरमा ३.३३ मेगावाट क्षमता भएको कापडी गाड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको साढे तीन वर्ष भइसक्दा पनि किम्तोला, खसरे, बजाडी, आम्सेरा, सल्लेबासा, मिलनपुरबासी बत्तीमूनीको अध्याँरोमा बस्न बाध्य भएका हुन् ।
घरघरमा सिंह दरवारका नारा लगाउने छोटे राजाहरूले चाँसो नदेखाउँदा र स्थानीयको आवज छोटे राजाहरूले नसुन्दा र सुनेपनि बेखबरजस्तै बन्दा चुरे १ का जनताहरू अध्याँरोमा बस्न बाध्य भएका हुन ।
निर्माण सम्पन्न कापडी गाड जलविद्युत् आयोजनाको बत्ती केन्द्रिय प्रसारण लाइन अत्तरियामा जोडिएको छ । केन्दीय प्रसारण लाइनमा लगिएको बत्ती चुरे १ का जनताको खेतीयोग्य जमिन हुँदै लगिएको छ । बत्ती बाल्न पाइने भयो भनेर स्थानीयले खेतीयोग्य जमिन नासेर बत्तीको पोल बिस्तार गर्न दिए । बत्तीको पोल पनि बिस्तार भयो, तार पनि तानियो, बत्ती पनि छोडियो तर स्थानीयले भने बत्ती बाल्न पाएनन् ।
जसको बाधकका रुपमा खडा भएका छन, चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुमबहादुर बोहरा । स्थानीयले चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराको खराव नियतले गर्दा आफुहरूले बत्ती बाल्न नपाएको आरोप लगाएका छन ।
वडा अध्यक्ष बोहरा क्षेत्रीयता, वर्गीयता र जातीयताका नारा लगाउनमा ठिक्क भएकाले विकास निर्माणका कार्य थप्प भएको स्थानीयले गुनासो गरेका छन । चुरे गाउँपालिका वडा नम्बर १ बासीले वडा अध्यक्षका कारण गाउँगाउँमा सिंह दरवार आएको महसुस गर्न नपाएको बताएका छन ।
एक स्थानीयले नाम नबताउने सर्तमा भनेका छन वडा अध्यक्ष बोहराको खराव नियतका कारण हामीहरू अध्याँरोमा बस्न बाध्य भएका छौं । वडाअध्यक्ष बोहराले भेगीय नारा लगाउने गरेकाले विकास निर्माण कार्यले गति पाउन नसकेको बताएका छन ।
‘वडा अध्यक्ष बोहराले चुरे–१ का क्षेत्रमा बराबर विकास गर्नुपर्ने हो तर उहाँमा त्यस्तो देखिएन ।’ उनले भने- ‘भौगोलिक हिसावले बिकट चुरे गाउँपालिका वडा नम्बर १ को सबै गाउँमा विधुत् विस्तार गर्ने भनेर ग्रामिण विधुत् सहकारी संस्था गठन गरिएको छ । तर वडा अध्यक्षले भेगीय नारा लगाउँदै १ नम्बर वडाको माथिल्लो क्षेत्रमा विधुत् सहकारी मार्फत पोल र तार लाइन विस्तार गरे । तर तल्लो भेगको किम्तोला, खसरे, शिवनगर, बजाडी, आम्सेरा, सल्लेबासा, मिलनपुर क्षेत्र विधुत् सहकारीमा नअटेको हो कि वडा अध्यक्षको ध्यान नगएको हो ?’ उनले प्रश्न गरे । तल्लो भेग भन्दा माथिल्लो भेगमा पुग्ने गरेका अध्यक्ष बोहराले भेगीयका नारा लगाएर जनतालाई लडाउन खोजेको समेत उनले बताए ।
अर्का एक स्थानीयले वाड अध्यक्ष बोहरा विधुत् सहकारीको नाममा भ्रष्टाचार गर्न व्यस्त भएको उनले बताए । विधुत सहकारी मार्फत बत्ती बिस्तार गर्ने भन्दै वर्षेनी बजेट विनियोजन हुने तर त्यो बजेटको कुनै लेखाजोखा नभएको उनको भनाई छ । ‘विधुत् सहकारी मार्फत बत्ती विस्तार हुन्छ भनेको चार वर्ष भइसक्यो तर अहिलेसम्म पनि जनताले बत्ती बाल्न पाएका छैनन्’ उनले भने । विधुत् सहकारी पनि माथिल्लो भेग घरखेडा, अलाड, घोडेथर, ओजेना, दिगडा, डुप्केखाली, पालडी, पखिर र निगालीसम्म मात्र भएको जानकारी दिए ।
उलने भने- ‘विधुत सहकारी मार्फत बत्ती बिस्तार गर्ने योजना वडा पालिकाको भएको भए वडा नम्बर १ का सबै क्षेत्रमा हुनुपर्ने हो । तर त्यसो देखिएन ।’ उनले भने- ‘वडा अध्यक्ष विकास निर्माणका नाममा भ्रष्टाचार गर्नमा व्यस्त हुनुहुन्छ ।’ चुरे– १ को माथिल्लो भेगमा विधुत् सहकारी मार्फत बत्ती बाल्ने तयारीमा रहेका वडा अध्यक्ष बोहराले जनताको आखाँमा छारो हालेको स्थानीयहरु बताउँछन । विधुत सहकारीलाई वडा अध्यक्ष बोहराले कमाई खाने थलो बनाएको स्थानीयको आरोप छ ।
स्थानीयले लगाएको आरोप र गुनासोका विषयमा वडा अध्यक्ष बोहरासंग बुझ्दा उनले आफु काम गरिरहेको र छिटो भन्दा छिटो बत्ती बाल्ने तयारीमा हरेको बताए । उनले सहकारी विधुत मार्फत माथिल्लो भेगमा बत्ती बिस्तार गर्ने र तल्लो भेगमा कापडी गाड जलविद्युत आयोजनाको सब स्टेसनबाट विधुत् बिस्तार गर्ने बताए ।
यता क्षेत्रीय विधुत् प्राधिकरण अत्तरियाका प्रमुख जगदिसचन्द्र जोशीले चुरेको १ मा निगाली विधुत् सहकारी संस्था लिमिटेडबाट काम भइरहेकाले प्राधिकरणले केही गर्न नसक्ने बताए । उनले भने- ‘यदि सहकारी संस्थाले काम गर्न सकेन भने र हाम्रो यी क्षेत्रहरुमा काम गरिदनु भनेर निवेदा दिएपछि मात्र काम गर्न सकिनेछ ।’
चुरे १ का स्थानीयको खेतीयोग्य जमिनलाई नासेर लगिएको बत्ती स्थानीयले बाल्न पाएका छैनन् । डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ को थलीमा निर्माण सम्पन्न ३.३३ मेघावाटको कापडी गाड जलविधुत् आयोजनाको लाइन बिस्तार बडिकेदार, चुरे र जोरायल गाउँपालिका हुँदै केन्द्रीय प्रसारण लाइन अत्तरियामा लगिएको छ, तर स्थानीयहरूले भने बत्ती बाल्न पाएका छैनन् ।