काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको छ ।
सचिवालयका अनुसार शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक विषय छैनन् । सदनमा पेश भएर अड्किएका कुनै पनि विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने काम भएको छैन । संसदीय समितिबाट पास भएर आएको कुनै पनि विधेयकलाई छलफलका लागि राष्ट्रियसभामा पनि पठाइएको छैन ।
अहिले संसदमा ५५ वटा विधेयकहरु छन् । तीमध्ये प्रतिनिधिसभामा ३० र राष्ट्रियसभामा २५ वटा छन् । दर्ता र सांसदहरुलाई छलफलका लागि वितरण मात्रै भएका विधेयकको संख्या १७ रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सभामा पेश भएर रहेको विधेयक २० वटा छन् भने १५ वटा विधेयक संसदीय समितिमा छलफलको क्रममा छन् । एउटा सदनबाट पास भएर अर्को सदनमा सन्देशसहित पेश भएका विधेयक तीन वटा छन् । पुनर्स्थापित प्रतिनिधिसभाको साउन ३ गते पहिलो बैठक बसेको थियो । साउन ८ र १२ गते बसेका बैठक पनि समान्य कार्यसूचीमै सम्पन्न भएका थिए । दोस्रो पटक संसद विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेसविहीन बनेको छ ।