म्याग्दी, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार म्याग्दीका ६ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ ।
चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताए । ‘पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका छौँ र वडाको जिल्ला संयन्त्रले अनुमोदन गरेको छ’ पौडेलले भने, ‘सबै ठाउँमा सर्वसम्मत कमिटी गठन भएको छ ।’
बेनी नगर कमिटीको अध्यक्षमा पूर्वमाओवादी केन्द्रका शेरबहादुर केसी र सचिवमा पूर्वएमालेका राजकुमार थापा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका खुमनाथ सुवेदी र सचिवमा पूर्वएमालेका देउप्रसाद छन्त्याल चयन भएका छन् ।
मालिका गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका बेगप्रसाद गर्बुजा र सचिवमा पूर्वमाओवादीका गोविन सिउथानी, मङ्गला गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका प्रेमप्रसाद रेग्मी र सचिवमा पूर्वमाओवादीका यामबहादुर रोकालाई चयन गरिएको छ ।
रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका दीपक कार्की र सचिवमा पूर्वमाओवादीका हरि भण्डारी, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका खड्ग गिरी र सचिवमा पूर्वमाओवादीका पूर्ण पाइजा चयन भएको जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको करीब एक वर्षपछि स्थानीय र वडास्तरमा संयुक्त कमिटी गठन भएको हो । स्थानीय तह र वडा कमिटीमा पूर्वएमालेबाट ५९ र पूर्वमाओवादी केन्द्रबाट ४१ प्रतिशत प्रतिनिधित्व रहने गरी कमिटी गठन गरिएको छ ।