काठमाडौं । फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ । एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन् ।
‘कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्रमा गतिविधि ठप्प भइरहेको अवस्थामा हल बन्द गरेर राख्नुको सट्टा भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउनु उत्तम होला,’ उनले भने, ‘तत्काल पुरानो शैलीको सिद्धार्थ हल भत्काउने सम्झौता गरिसकेका छौं । साउनको अन्तिम साताबाट हल भत्काइनेछ।’
२०४९ सालमा बौद्धमा रहेको दुई रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको सिद्धार्थ हल चार सय सिट क्षमताको छ । अधिकांश नेपाली फिल्म रिलिज हुने यो हल राजधानीको पूर्वी भेगमा चर्चित रहेको छ ।
‘कोरोना भाइरस महामारीपछि फिल्म हल सञ्चालनमा आउँदा फिल्मकर्मीले फिल्म रिलिज गर्न चाहेनन्,’ उनले भने, ‘जसका कारण बाध्य भएर धमाधम फिल्म हल बन्द गर्नुपरेको छ । तत्काल फिल्म हल खुल्ने छाँट नदेखिएपछि हल भत्काउनु उत्तमजस्तो लाग्यो।’ उनले सिद्धार्थ हलको जग्गालाई मासिक डेढ लाख भाडा तिरिरहेको बताए। डेढ दर्जन कर्मचारी रहेको सो हलको मासिक खर्च तीन लाख रुपैयाँ रहेको छ । सिद्धार्थ हल भत्काएपछि निर्माण हुने नयाँ भवनमा हल राख्ने वा नराख्नेबारे टुंगो लागिसकेको छैन ।
सिद्धार्थ हल भत्काएलगत्तै राजधानीको कोटेश्वरमा रहेको पुष्पाञ्जली हलसमेत भत्काइने उनले बताए । उनले थपे, ‘अहिले हल बन्द गर्नुको विकल्प छैन । कोरोना भाइरस महामारीको जटिल अवस्था रह्यो भने ९० प्रतिशत पुराना हल सधैंका लागि बन्द हुन्छन् ।’ कोरोना भाइरसका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्णजस्ता हल पनि बन्द भएका छन् । क्युएफएक्सले घाटा बेहोर्न थालेपछि जय नेपाल र कुमारी हल सञ्चालन गरिएका थिए ।
‘कोरोना भाइरस महामारीअघिदेखि नै कुमारी र जय नेपाल हल घाटामा थिए,’ क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले भने, ‘घाटा भए पनि हल बन्द गर्न तयार थिएनौं । कोरोना भाइरस महामारीसँगै निकै घाटा हुँदै गएपछि जयनेपाल र कुमारी बन्द गर्यौं।’ क्युएफएक्सले सन् २००१ मा जय नेपाल र २००४ मा कुमारीलाई लिएको थियो ।
चलचित्र संघको तथ्यांकअनुसार कोरोना भाइरस महामारी फैलिएयता देशभरका २८ फिल्म हल बन्द भइसकेका छन् । संघका महासचिव अशोक दाहालका अनुसार एउटा हल निर्माण हुँदा औसतमा ६ देखि १० करोड रुपैयाँ खर्च हुने गरेको छ। ‘अहिलेको परिस्थितिमा सबैभन्दा बढी फिल्म र पर्यटन क्षेत्र प्रभावित भएका छन्,’ उनले भने, ‘फिल्म क्षेत्रका लागि सरकारले दीर्घकालीन नीति ल्याउनुपर्छ । फिल्म र हल निर्माणमा सरकारले ऋण उपलब्ध गराउनुको साटो प्रोजेक्ट ऋण दिनुपर्छ । सामान्य अवस्थामा फिल्म क्षेत्र फर्कन समय लाग्छ । अधिकांश फिल्मकर्मीदेखि प्राविधिकसम्मले वैकल्पिक रोजगार खोजिरहेका छन् । यो निराशाजनक कुरो हो ।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।