Logo
Logo

कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । २० निर्जीवन बीमा कम्पनीहरूमा असार मसान्तसम्म त्यो बराबरको दाबी परेको हो ।

गत साउन १ गतेदेखि कोरोना बीमासम्बन्धी दाबी भुक्तानीबाहेक सम्पूर्ण कारोबार बन्द गरिएको छ । कारोबार सञ्चालनमा रहेको अन्तिम दिन अर्थात् असार मसान्तसम्म त्यो बराबरको दाबी परेको हो ।

बीमा समितिबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्तिम समयसम्म कोरोना बीमामा १३ अर्बभन्दा बढीको आवेदन परेको बताए । उनका अनुसार बीमा कम्पनीहरूमा अन्तिम दिनसम्म १ लाख १७ हजार ७५४ ओटा दाबी आवेदन परेका छन् ।

समितिले २०७६ वैशाखदेखि कोभिड–१९ बीमालेख कार्यक्रम ल्याएको थियो । त्यसको कारोबार गत असारमसान्तसम्म सञ्चालन गर्नेगरी कार्यविधि बनाइएको थियो । त्यसअनुसार गत साउन १ गतेदेखि कोरोना बीमाको कारोबार बन्द गरिएको छ ।

कारोबार शुरू भएको मितिदेखि अन्तिम दिनसम्म १ अर्ब ५ करोड ५ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको थियो । तर, दाबी आवेदन भने त्योभन्दा अत्यधिक बढी
परेको छ ।

कोरोनामा बीमामा त्यस बराबरको दाबी परे पनि भुक्तानी भने अत्यन्त न्यून मात्रामा भएको छ । हालसम्म साढे ४ अर्बको हाराहारीमा दाबी भुक्तानी भएको छ । सरकारले आफ्नो दायित्व बराबरको रकम निकासी नगर्दा दाबी भुक्तानीमा ढिलाइ भएको कम्पनीहरूको भनाइ छ । यसरी अर्थ मन्त्रालयले आफ्नो दायित्व बराबरको रकम निकासी नगरेपछि कम्पनीहरूले गत शुक्रवारदेखि दाबी भुक्तानीको कार्य नै स्थगित गरेका छन् ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्