धनगढी । बिचमा कर्णालीको उर्लँदो भेल, वारी कैलालीको मोहन्याल गाउँपालिका पारी सुर्खेतको चौकुने गाउँपालिका । भौगोलिक रुपले विकट क्षेत्र मोहन्याल वडा नम्बर ३ का बासिन्दा सामान्य किनमेलदेखि स्वास्थ्य उपचार र शिक्षाका लागि पनि कर्णाली प्रदेशको चौकुने गाउँपालिका पुग्ने गर्छन ।
मोहन्याल वडा नम्बर ३ को वडा कार्यालय फल्लेबिसौनीमा छ । त्यहाँ पुग्न महिला तथा बालबालिकाहरूलाई दुई लाग्छ । वयस्कहरू बिहानै हिँडेर राति पुग्न सक्छन् । तर कर्णाली नदी पार गर्ने बित्तिकै आधा घण्टामा सुर्खेतको चौकुने गाउँपालिका पुगिन्छ ।
‘आफ्नै वडा कार्यालय पुग्न दुई दिन लाग्छ, त्यसैले हामी बाध्य भएर कर्णालीपारि सुर्खेत जान्छौँ, मोहन्याल ३ की धनसरा देवकोटाले भनिन्, ‘सुत्केरी, गर्भवती तथा शिशुहरूलाई खोपको लागि सुर्खेत लैजानु पर्छ, किनमेलका लागि पनि हामी चौकुने पुग्छौँ, बालबालिका विद्यालयको लागि साँझबिहान कर्णाली नदी ओहोरदोहोर गरिरहन्छन् ।’
मोहन्याल वडा नम्बर ३ का राँगा, मलेखा, चावा र ताम्चाका नागरिकहरू सामान्य किनमेलदेखि सेवा सुविधाका लागि कर्णालीपारि कर्णाली प्रदेशमा जानुपर्ने बाध्यता रहेको छ । भौगोलिक हिसाबले बिकट मोहन्यालबासीहरुले वर्षेनी कर्णालीको भेलसंग बगेर ज्यान गुमाउनु परिरहेको छ ।
समान्य आधारभूत सेवा लिनका लागि अर्को प्रदेश जाने मोहन्यालबासीहरुका लागि कर्णालीमा पुल समेत बनेको छैन । जसले गर्दा उनीहरु डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन ।
मोहन्यालबसीलाई कर्णाली नदी तरेर सुर्खेत पुग्न सहज हुने भएतापनि पुल भएका कारण उनीहरुले जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपरिरहेको छ । पुल भएको स्थानमा पुगेर नदी पार गर्न तीन घण्टा हिँड्नु पर्छ, डुंगाबाट नदी पार गर्दा आधा घण्टामा मात्र लाग्छ, स्थानीय गोविन्द माझीले भन्नुभयो, ‘सुर्खेत पुगेर छिटो घर फर्किनु प¥यो, पुलको बाटोबाट जान थालेपछि त रात परिहाल्छ, त्यसैले हामी काठको असुरक्षित डुङ्गाको मद्दतबाटै कर्णाली वारपार गर्छौँ ।’
‘हाम्रै वडामा सेवा सुविधा पाइने भए हामीलाई कर्णाली नदी तरेर अर्को प्रदेश जान रहर थिएन, स्थानीय शान्ता टमटाले भनिन्, ‘हामी त दाल तरकारी किन्न पनि कर्णाली प्रदेश पुग्छौँ, घर नजिकै खोप लगाउने व्यवस्था भएको भए आइतबार धनसरा सलामी मगरको अकालमा ज्यान जाने थिएन ।’
‘हाम्रा बालबालिकाहरू दैनिक जसो यही नदी तरेर सुर्खेत विद्यालय जान्छन्, हामी पनि डुंगा चढेरै ओहोरदोहोर गर्छौँ, यस अघि पनि धेरै पटक डुंगा पल्टिसकेको छ तर आइतबार त ठूलै दुर्घटना भयो, गाउँ नै शोकमग्न छ, यो बाध्यतामा हामी कहिले सम्म भुग्ने ? कहिले पाउँछौँ हामीले आफ्नै वडामा सेवा, आक्रोशित हुँदै’ै, उनले भनिन् । राँगा मलेखामा ९७ परिवार छन् । त्यस्तै ताम्चा र चावा पनि एक सयको हाराहारीमा घरधुरी छन् ।
सुत्केरी तथा गर्भवती महिला मात्रै होइनन्, बालबालिकहरु पनि नियमित रूपमा सुर्खेतको चौकुने गाउँपालिका-४ बिरौरामा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा पढ्न जान्छन् ।
‘हाम्रो वडामा प्राथमिक विद्यालय मात्रै छ, माध्यमिक तहको शिक्षा यहाँ छैन, मोहन्याल ३ ताम्चाका हरिस मगरले भन्नुभयो, ‘राँगा मलेखामा कर्णाली राष्ट्रिय प्राथमिक विद्यालय छ । कक्षा पाँचभन्दा बढी पढ्नु परे वडा नम्बर ६ मा रहेको सोल्टा पुग्नु पर्छ । तर, त्यो भन्दा नजिक कर्णाली प्रदेशमा विद्यालय छन् । दैनिक ४० जनासम्म विद्यार्थी कर्णालीको भेल तरेर अर्को प्रदेशको विद्यालय जान्छन् ।’
वडाध्यक्ष भन्छन्: ‘कर्णाली प्रदेशको विकल्प छैन’
प्रदेशको राजधानीको भएको सुगमको जिल्ला हो कैलाली । कैलाली भित्र पनि भौगोलिक हिसाबले बिकट मोहन्याल र चुरे गाउँपालिका छन । मोहन्याल गाउँपालिकाका जनतालाई आफ्नै वडा कार्यालय पुग्न दुई दिन लाग्छ । त्यसैले बाध्य भएर उनीहरू नदीपारिको कर्णाली प्रदेश पुग्छन् ।
मोहन्याल ३ का वडाध्यक्ष नन्दाराम गिरी तत्काल वडाका नागरिकहरूलाई वडाबाट सम्पूर्ण सेवा दिन सकिने अवस्था नरहेको बताए । ‘वर्षातको समयमा ग्रामिण सडकमा यातायात चल्न सक्ने अवस्था छैन, हिँडेर सेवा लिन आउन उहाँहरूलाई दुई दिनसम्म लाग्छ, अरू बेला त यातायातको सुविधा हुन्छ तर वर्षातमा गाडी चल्दैनन्, वडाध्यक्ष गिरीले भने, ‘त्यसैले कर्णाली नदी नजिक बसोवास रहेकाहरू सुर्खेतको चौकुने गाउँपालिका पुग्छन् ।’
‘डुंगा दुर्घटना भएको स्थानको केही तल पुल पनि छ, तर नजिक पर्ने हुनाले सेवाग्राहीहरू डुंगाको सहारालेनै नदी तर्छन्, वडाध्यक्ष गिरी भन्छन्, ‘नागरिकहरूलाई वडामै सेवा प्रवाहको लागि स्वास्थ्य चौकी निर्माणको योजना तयार भइरहेको छ, त्यतिन्जेलसम्म हामी घुम्ती शिविरबाटै सेवा प्रवाह गर्छौँ तर नागरिकहरूलाई किनमेल र अन्य सेवा सुविधाको लागि कर्णाली प्रदेशको विकल्प छैन, नागरिकहरूलाई रोक्न सकिने अवस्था छैन, हामी सक्दो चाँडो वडाबाटै सबै सेवा पु¥याउने प्रयत्नमा छौँ ।’
बेपत्ताहरू अझै भेटिएनन्
आइतबार डुंगा दुर्घटना हुँदा बेपत्ता तीन जना अझै भेटिएका छैनन् । २० वर्षीया गर्भवती पार्वती थापा मगर, २२ बर्सिया उर्मिला सलामी मगर र उनकी १० दिने छोरी प्राप्ति सलामी मगर अझै बेपत्ता छन् । डुंगा पल्टिएर धनसरा सलामी मगरको मृत्यु भएको थियो ।
‘हामीले घटना भएदेखिनै खोजी कार्य जारी राखेका छौँ, इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीका इन्चार्ज राजेन्द्र कुमालले भन्नुभयो, ’तर अझै भेटेका छैनौँ, कर्णाली नदीमा पानीको सतह निकै बढेको छ, धमिलो पानी भएकाले खोज्न निकै कठिनाइ भइरहेको छ ।’
यस अघि गत शुक्रवार पनि कर्णाली नदीमा जीप दुर्घटना हुँदा बेपत्ता भएका एक दम्पती पनि अझै फेला परेका छैनन् । एकै परिवारका पाँच जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडकखण्डबाट कर्णाली नदीमा खसेको थियो । जीपमा सवार तीन जनाको उद्धार गरिएको छ । चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशी अझै बेपत्ता छन् ।