काठमाडौं । राजश्व अनुसन्धान विभागले भैरहवाका एक मोबाइल व्यापारीलाई १४ करोड ७५ लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ । सिद्धार्थनगर वडा नम्बर ९ घर भएका विष्णु ज्ञवालीलाई विभागले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।
ज्ञवाली एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक हुन् । उनले मोबाइल पसलको आवरणमा भन्सार छलीका सामानको करोडौंको कारोबार गर्दै आएको विभागले जनाएको छ ।
फर्ममा रहेका मोबाईलजन्य मालवस्तुहरुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको, निजले पेश गरेको वित्तीय विवरण र आय विवरणमा बिक्री आय लुकाएको विभागले जनाएको छ । मालवस्तु विक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाई निज प्रतिवादीले अवैध (लुज) बिल बिजकबाट मालवस्तु खरिद र बिक्री गरी वास्तविक बिक्री आय लुकाएको, बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाईएको विभागद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।