चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले आफू फेरि स्वास्थ्यमन्त्री बन्ने घुमाउरो इच्छा व्यक्त गरेका छन् ।
बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता थापाले देश कोरोना महामारीसँग लडिरहेपनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गर्दै भने, प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे स्वास्थ्यमन्त्री बन्न तयार छु ।’ तर, गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए ।
उनले भने, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ ।’ गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागिता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको उनको भनाइ छ ।
नेता थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएसँगै केही दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । कांग्रेस अहाधिवेशन सार्न नहुनेमा अडिग रहँदै नेता थापाले सदस्यता विवाद देखाएर महाधिवेशन सार्न नहुने बताए । सदस्यता विवाद सुल्झाउन जिम्मेवारी पाएका पदाधिकारीले समयमै सम्पन्न नगर्दा कार्यतालिका प्रभावित बनेको थापाको आरोप छ ।
अर्को प्रशंगमा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धानमा सरकार डराउन नहुने उनले बताए । ‘नागरिकको जीवन रक्षा सरकारको आधारभूत जिम्मेवारी हो, अनुसन्धान गरेर सरकारले पुष्टि गर्नुपर्छ’, नेता थापाले भने, ‘सरकार न्यायका लागि लडोस्, नडराओस् ।’