काठमाडौं । सरकार फेरिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राजनीतिको प्रभाव देखिएको छ । नयाँ सरकारले उच्च अधिकारीलाई नै जिम्मेवारविहिन बनाएको छ ।
नेपाल प्रहरीका एक एआइजी तथा सशस्त्र प्रहरीका दुई डिआइजीले फुली लगाए पनि बढुवा भएको पदको जिम्मेवारी पाएका छैनन् । नेपाल प्रहरीका एआइजी सहकुल थापा असार अन्तिम साता एआइजीमा बढुवा भएका थिए । उनलाई केपी ओली सरकारले प्रशासन विभागमा पदस्थापन गर्ने निर्णय गरेका थियो । तर, नयाँ सरकार बनेलगत्तै सो निर्णय कार्यान्वायनमा रोक लगाइएको थियो । जसकारण थापाले एआइजीको जिम्मेवारी पाएका छैनन् । अन्य एआइजीको सरुवा पनि रोकिएको थियो ।
उता सशस्त्र प्रहरीमा पनि बढुवा भएका दुई डिआइजीले जिम्मेवारी पाएका छैनन् ।
असार २२ गते डिआइजीमा बढुवा भएका कालिदास धौवजी र कुमार न्यौपानेको पनि अझै पदस्थापन भएको छैन । उनीहरु अझै एसएसपीकै जिम्मेवारीमा छन् । सशस्त्र प्रहरीमा सबै जसो बाहिनीका डिआइजीको सरुवा तयारी भइरहेका छ । जसकारण उनीहरुको पदस्थापनमा ढिलाई भएको स्रोत बताउँछ । डिआइजीको सरुवाका लागि गृहमन्त्री बालकृष्ण खाण तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट व्यक्तिहरुले बार्गेनिङ गरिरहेको स्रोत बताउँछ ।