Logo
Logo

कक्षा १२ को परीक्षा ३१ साउनदेखि सञ्चालन हुने


हिक्मत बम

1.2k
Shares

धनगढी । कक्षा १२ को परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको राष्ट्रिय परीक्षा वोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।

श्रावण ३१ गतेदेखि ९ भादसम्म बिहान ११ बजेदेखि २ बजेको अवधि र कक्षा १२ को परीक्षा सञ्चालन हुने प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख उत्तमदेव विष्टले बताए ।

‘परीक्षा केन्द्रहरूमा उत्तर पुस्तिका, प्रवेश पत्र लगायतका सामग्री पु¥याउने काम भइरहेको छ, परीक्षाको सञ्चालनको तयारी अन्तिम चरणमा छ’, विष्टले भने, ‘यस वर्ष कैलाली—कञ्चनपुरमा अनलाइन विधिबाट प्रश्न पत्र पठाउँछौँ, पहाडी सात जिल्लाको हकमा इन्टरनेटको सुविधा भएको परीक्षा केन्द्रहरुमा अनलाइन विधिबाटै र सम्भव नदेखिएका ठाउँमा प्रश्न पत्र नै पु¥याइरहेका छौँ ।’

‘कोभिड-१९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन हुनेछ, उनले भने, ‘परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको छ, परीक्षार्थीले परीक्षा केन्द्र परिवर्तन गर्न पाउने छैनन्, परीक्षा केन्द्रमा मोबाइल, स्मार्ट घडी, कुनै पनि इलेक्ट्रोनिक्स डिभाइस पूर्ण रूपमा रोक लगाइएको छ ।’

कक्षा १२ को प्रयोगात्मक परीक्षा भाद्र १६ गतेभित्र सम्पन्न गरी बोर्डमा पठाउन विद्यालयहरुलाई निर्देशन दिइएको छ । गत जेठमा तय गरेको परीक्षा कोभिड—१९ को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याँकनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

११ उर्तिणले मात्रै १२ कक्षा पढ्न पाउने

कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने अनुमति पाएका छन् । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम तथा मूल्याङ्कन ढाँचाअनुरूप साउन मसान्तभित्र परीक्षा सम्पन्न गरी सक्न विद्यालयलाई पत्राचार गरिएको राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ ।

‘गत वर्ष पनि सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गरेका थिए’, प्रदेश कार्यालय प्रमुख उत्तम देव विष्टले भने, ‘यस वर्ष के गर्ने भन्ने अन्यौलता थियो, बोर्डले चालु आर्थिक वर्षदेखि विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ, त्यहीँअनुसार हामीले विद्यालयहरूलाई पत्राचार गरेका छौँ ।’

विद्यालयले सञ्चालन गरेको परीक्षाको अनुगमन भने बोर्डबाट हुने जनाइएको छ । परीक्षामा २५ प्रतिशतको प्रयोगात्मक र ७५ प्रतिशत सैद्धान्तिक मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ ।

विगतमा कक्षा ११ अनुत्तिर्णले पनि कक्षा १२ अध्ययन गर्न पाउने व्यवस्था रहेकोमा यस वर्षदेखि कक्षा ११ उत्तिर्ण गरेरमात्रै कक्षा १२ अध्ययन गर्न पाइने राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख विष्टले बताए ।

‘कक्षा ११ को नियमिततर्फको परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गरे पनि आंशिक र ग्रेडबृद्धीको परीक्षा भने बोर्डले नै सञ्चालन गर्ने छ,’ कार्यालय प्रमुख विष्टले भने, ‘यसको सूचना केन्द्रबाट आउन बाँकी छ, प्राप्त हुनेबित्तिकै हामी सम्बन्धित विद्यालयलाई पत्राचार गर्छौँ ।’

कक्षा ११ को परीक्षा साउन मसान्त भित्र सकि नतिजा प्रकाशन गर्न परीक्षा बोर्डले सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेशभर चार सय ७८ विद्यालय तथा क्याम्पसमा कक्षा ११ को परीक्षा सञ्चालन हुँदैछ भने कक्षा १२ को परीक्षा चार सय ६० क्याम्पस तथा विद्यालयले सञ्चालन गर्ने छन् ।

कक्षा ११ मा नियमित तर्फ ३९ हजार तीन सय ९५ र आंशिक तर्फ दुई हजार नौं सय २१ गरी ४२ हजार तीन सय १६ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । यस्तै, १२ कक्षामा नियमित तर्फ ३० हजार तीन सय चार र आंशिक तथा ग्रेड बृद्धितर्फ चार हजार छ सय ८० गरी ३४ हजार नौं सय ८३ परीक्षार्थी रहेका छन् ।

कैलाली-कञ्चनपुरमा कक्षा ११ मा दुई सय चार र कक्षा १२ मा एक सय ९४ परीक्षा केन्द्र तोकिएका छन् । सात पहाडी जिल्लामा कक्षा ११ मा दुई सय ७४ र कक्षा १२ मा दुई सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । राट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख विष्टले परीक्षालाई मर्यादित, अनुशासित, गुणस्तरिय र व्यवस्थित बनाउन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्