‘झण्डै १० घण्टा लाइनमा बसेपछि बल्ल पालो आयो, तर खोप सकियो भनियो’ आइतबार डिल्लीबजारस्थित विजयस्मारक स्कुलमा राखिएको खोप केन्द्र परिसरमा भेटिएकी चन्द्रा राईले भनिन्, ‘खोप लगाउन पावर नै चाहिने रहेछ ।’
उदयपुर घर भई मैतीदेवीमा बस्दै आएकी चन्द्रा कोभिडविरुद्धको खोपका लागि दुई पटक लाइनमा बसिसकिन् । तर, अझै खोप पाएकी छैनन् । चन्द्रा उदाहरण पात्र हुन्, यहाँ खोपका लागि दिनभरी लाइनमा बसेर रित्तै घर फर्कनुपर्ने नेपालीको संख्या लाखौं छ ।
सरकारले कोभिडविरुद्धको खोप सहजरुपमा उपलब्ध गराउन नसक्दा सर्वसाधारणले सास्तीसँगै संक्रमणको त्रास पनि उत्तिकै झल्दै आएका छन् । ‘आज खोप दिइँदैछ’ भन्ने खबर पाउनेवित्तिकै सरकारले तोकेका खोप केन्द्रहरुमा बिहान ३ बजेदेखि स्थानीयको भीड लाग्ने गरेको छ । तर, ती हजारौँका भीडमा बल्ल तीन सय जनाले खोप पाउँछन् ।
सरकारले एउटा खोप केन्द्रमा तीन सयदेखि पाँच सय जनासम्मलई मात्र खोप दिँदै आएको छ । तर, ती खोप केन्द्रहरुमा अत्याधिक भीड लाग्ने गरेको छ । जसबाट कोभिड–१९ को संक्रमण सर्ने उत्तिकै जोखिम बढेको छ ।
सरकारले तोकेका खोप केन्द्रहरु हेर्दा लाग्छ, ती खोप केन्द्र नभएर कोभिडको संक्रमण फैलाउने केन्द्र हो । अपर्याप्त खोप, सिमित र अव्यस्थित खोप केन्द्रहरुका कारण कोरोना संक्रमणको झनै जोखिम बढेको छ ।
सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् विस्तार गर्नै सकस भइरहेको छ । यस्तो अवस्थामा सरकारले खोपतिर ध्यान दिएको छैन । सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धन आलोचित बन्न थालेको छ । यस्तो अवस्थामा नागरिकको जीवन रक्षामा वर्तमान सरकार सुरुमै चुकेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनको जोडबलले प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेलगत्तै ४ साउनमा खोप केन्द्रको निरीक्षण गरेपछि उनले भनेका थिए– ‘जनतालाई सहजरुपमा खोप उपलब्ध गराइने छ ।’ तर, ओली नेतृत्वको सरकारले जस्तै प्रधानमन्त्री देउवाको उक्त भनाइ अहिलेसम्म आश्वासन मात्र बनेको छ । नयाँ सरकारबाट खोप आयातमा समेत बेवास्ता भइरहेको छ ।
प्रधानमन्त्रीको सपथ लिएलगत्तै प्रधानमन्त्री देउवाले भनेका थिए– ‘मेरो पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो, त्यसैले खोप अभियान मेरो पहिलो प्राथमिकता हुनेछ ।’ यी शब्द दोहोर्याई तेहराई भनेका थिए । तर, सरकारले खोप अभियानलाई तिव्रता दिन सकेको छैन ।
कोरोना संक्रमणबाट बच्ने उपाय खोपमात्र भएकाले सरकारले खोप अभियानलाई प्राथमिकता दिनुपर्छ । अहिले सरकारले सिमितमात्र खोप केन्द्रहरु तोकेका छन् । त्यसैले खोप भएर पनि नागरिकले सहजरुपमा लगाउन पाएका छैनन् ।
अनुदानमा आएको खोपलाई समेत व्यवस्थित गर्न सकेको छैन । जति पनि खोप दिइँदैछ, त्यो ओली सरकारकै पहलमा ल्याइएको खोप हो । सरकारले थप खोपको पहल नगर्दा जनता खोपका लागि सास्तीसँगै संक्रमणको जोखिम मोलिरहेका छन् । खोप केन्द्रहरुबाटै संक्रमण फैलने जोखिम बढेको छ ।
विश्वमै यतिखेर खोप अभियान चलिरहेको छ । आफ्ना नागरिकको जीवन रक्षाका लागि विश्वका मुलुकहरु अहोरात्र लागिरहेका छन् । कोभिड–१९ को संक्रमणबाट जोगिने अन्तिम विकल्प खोपमात्र हो भनेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भनिसकेको अवस्थामा खोप अभियानलाई ध्यान नदिनु नागरिकको जीवनको बेवास्ता गर्नुसरह हो ।
कोभिड–१९ विरुद्धको खोपलाई निरन्तरता दिएपनि झारो टार्ने मात्र भएको छ । सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । तर, खोप पहुँच र पावरवालाका लागिमात्र हुँदै आएको छ । सरकारले तोकेका अस्पतालहरुमा नागरिकको भीड लाग्नुको कारण यही हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म १८ लाख १३ हजार ४७१ जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये पहिलो डोज लगाउनेको संख्या ४० लाख ६४ हजार २२८ रहेको छ । यी संख्याले दोस्रो डोजको खोप कहिले पाउने हुन्, त्यो निश्चित छैन ।
कोरोना संक्रमणबाट बच्ने उपाय खोपमात्र भएकाले सरकारले खोप अभियानलाई प्राथमिकता दिनुपर्छ । अहिले सरकारले सिमितमात्र खोप केन्द्रहरु तोकेका छन् । त्यसैले खोप भएर पनि नागरिकले सहजरुपमा लगाउन पाएका छैनन् ।
खोप अभियानलाई सहज बनाउन सम्पूर्ण सरकारी तथा नीजि कार्यालय र संघसंस्थाहरुमा पर्याप्त मात्रामा खोप लगाउने व्यवस्था मिलाउनु पर्ने हो त्यो हुन सकेको छैन । हरेक कार्यालय तथा संघसंस्थाहरुमा खोप लगाउने व्यवस्था गरिएमा अहिलेको जस्तो खोप केन्द्रहरुमा नागरिकको भीड लाग्दैन ।
अर्कोतर्फ, नेपालमा संक्रमण नियन्त्रणमा आएको छैन । निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमणदर पुनः बढ्दै गएको छ । तर, दुईपटक गरी झण्डै १३ महिना लकडाउन तथा निषेधाज्ञा झेलेका नागरिक हिजोआज ‘कोरोना संक्रमण सामान्य हो, यो केही होइन’ भन्दै हिँड्न थालेका छन् । जसले गर्दा संक्रमणको जोखिम पुनः बढ्दै गएको छ ।
अहिले विश्वमै कोभिडको तेस्रो लहरको जोखिम बढेको छ । नेपाल पनि त्यो जोखिमबाट अछुतो छैन । विश्वका धेरै देशमा संक्रमणको अहिले तेस्रो लहर आइरहेको छ । नेपालमा समेत तेस्रो लहर पुष्टि भइसकेको छ । यो अवस्थामा सरकार सचेत हुनुपर्छ । संक्रमणसँग हेलचेक्र्याइ गर्नु भनेको भयावह अवस्था निम्ताउनु हो ।
तर, अहिले विगत जस्तै सरकार र नागरिकले गैरजिम्मेवारपनलाई दोहोर्याइरहेका छन् । नागरिकले मास्क प्रयोग, सामाजिक दूरी, तथा तथा सेनिटाइजरको प्रयोग आदिलाई ध्यान दिन छाडेका छन् । सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन । सुरुका दिनमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ध्यान नदिएकै कारण संक्रमणको भयावह अवस्था झेल्नुपरेको हो ।
छिमेकी मुलुक भारतमा संक्रमण रोकिएको छैन । भारतमा नयाँ भेरियन्ट देखिसकेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा पनि बढ्नु स्वाभाविक हो । गत वर्ष भारतमा कोरोनाको पहिलो लहर आउँदा नेपालमा पनि संक्रमण बढेको थियो । अहिले पनि भारतको नयाँदिल्ली, उत्तर प्रदेश, नेपालसँग सीमा जोडिएको विहारलगायतमा संक्रमितको संख्या बढिरहेको छ । तर, भारतले खोप अभियानलाई पनि तिव्रता दिँदै आएको छ ।
नयाँदिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी)मा ‘सेक्वेन्सिङ’ गर्दा नेपालबाट पठाइएका नमूनामा ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको थियो । यो भेरियन्ट सबैभन्दा पहिले भारतमा देखिएको थियो । अहिले नेपालमा पनि देखिन थालेको छ । नेपालमा कोरोनाका चार भेरियन्ट अल्फा, डेल्टा, कप्पा र डेल्टा प्लस भेरियन्ट रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैले सरकारले कोरोनाभाइरस संक्रमणको उपचार र नियन्त्रणमा गत वर्षजस्तो भद्रगोल गर्नुहुँदैन । केही समययता सीमानाका खुकुलो पारिएको छ । त्यससँगै संक्रमण बढ्ने सम्भावना र जोखिम फेरि बढेको छ । गतवर्ष सुरुमै सीमा नाकामा कडाइ नगर्दा नेपालले संत्रमणको भयावह अवस्था झेल्नुपरेको थियो । हालकै अवस्थामा हेलचेक्र्याइ गरियो भने नेपालमा पुनः संक्रमणको भयावह अवस्था नआउन भन्न सकिन्न ।