काठमाडौं । वर्तमान राजनीतिका ‘किङ मेकर’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टीको भविष्यबारे के सोच्दै होलान ? राजनीतिको साँचो हातमा लिएर बसेका प्रचण्ड ओलीले भताभुंग पारेको कम्युनिष्ट आन्दोलनलाई कसरी उठाउँलान् ? यस्ता धेरै प्रश्न उनका सामु तेर्सिएका छन् ।
पहिलो आम निर्वाचनबाट नै माओवादी शक्तिशाली पार्टी बन्यो । तर, त्यसपछिका दिन माओवादीका लागि सुखद भएन । बन्दै गरेको संगठन पनि एमालेसँग एकता गरेपछि भताभुङ्ग भयो । यस्तै अवस्थामा निर्वाचनमा सहभागी हुने र एक्लै मैदान उत्रने हो भने माओवादीले थप शक्ति क्षयीकरण व्यहोर्नुपर्ने देखिन्छ । तर, पनि प्रचण्डले पार्टीको सुदृढीकरणमा ठोस कदम चाल्न सकेका छैनन् ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले माओवादी केन्द्र ब्युँताएपछि बसेको केन्द्रीय कमिटी बैठकहरुमा कम्युनिष्ट आन्दोलनमाथि भएको बज्रपातका विषयमा मिहिनरूपमा छलफल भएकै छैन । पार्टी संगठन कसरी अगाडि बढाउने ? भन्नेबारे प्रचण्डले मुख खोलेकै छैनन् । मुख्य नेतृत्व भएका हिसाबले प्रचण्डलाई नै सबैले पर्खेका छन् । तर, प्रचण्ड भन्दैछन्– ‘म कन्फिडेन्ट नै छैन ।’
प्रचण्ड ‘कन्फिडेन्ट’ नहुनुको मतलव ?
केन्द्रीय कमिटीको बैठक र नेताहरुसँगको भेटमा प्रचण्डले संगठनलाई गति दिन आफू ‘कन्फिडेन्ट’ नै नभएको बताउँदै आएका थिए । तर, केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि प्रचण्डले त्यसो भन्न छोडेका छन् ।
प्रचण्डले ‘कन्फिटेन्ट’ छैन भन्नुको मतलब संगठन निर्माणका लागि होमिने वातावरण नै छैन्न भन्न खोजेको हुनसक्छ । किनकी, गत पुष ५ देखि असार २८ गतेसम्म त ओली प्रतिगमनविरुद्ध सबै शक्ति खर्च गर्नुपर्ने थियो ।
सत्ता आफ्नो हातमा नहुँदा केही गर्न सकिन्न, गरे पनि सत्ताले सबै भत्काउँछ भन्ने प्रचण्डको बुझाइ हुनसक्छ । र, त्यसबेला सबै शक्ति ओलीको कदमविरुद्ध नै प्रयोग गर्नुपर्ने थियो । त्यसैले, यस्तो अवस्थामा संगठन बनाउन सकिन्न भन्ने प्रचण्डले भन्दै आएको हुनसक्छ । तर, अहिले परिस्थिति त्यस्तो छैन । सत्ताको साँचो नै प्रचण्डको हातमा आएको छ । अब सत्तासँगसँगै संगठनमा ध्यान दिनुपर्छ ।
अब प्रचण्ड ‘कन्फिडेन्ट’ भए त ?
दुई पटक असंवैधानिक रुपमा संसद विघटन गरेवापत ओली सत्ता विहीन छन् । कुनै दिन ‘मलाई रिस उठ्यो भने ओलीलाई भित्तामा पुर्याउँछु’ भनेर भाषण गरेका प्रचण्डले बोलेका थिए, नभन्दै भित्तामै पुर्याए । त्यसपछि प्रचण्ड नेपाली राजनीतिका ‘कि होल्डर’ भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि देउवा प्रचण्डसँगको सहमतिमा अगाडि बढ्नुको विकल्प छैन ।
समकालीन र दोस्रो पुस्ताका नेतासँग प्रचण्ड आजित छन् । त्यसैले पार्टीमा २० प्रतिशत युवा अनिवार्यको नीति लिएका हुन् । युवालाई स्थान दिएर बुढाहरुलाई तह लगाउने प्रचण्डको योजना हो ।
एमालेसँग पार्टी एकता गरेपछि प्रचण्ड ओलीको छायाँमा थिए । तर, अहिले सबै प्रचण्डकै छायाँमा छन् । उनकै वरपर राजनीतिले चक्कर मारिरहेको छ । यस्तो अवस्थामा प्रचण्ड स्वभाविक ‘कन्फिडेन्ट’ हुनुपर्ने हो । प्रचण्डलाई अहिले सत्ताले सबै भत्काउला भन्ने डर छैन । अर्थात सत्ता र शक्ति हातमा हुँदा प्रचण्ड चुप लागेर बस्नुपर्ने अवस्था छैन ।
प्रचण्डले अहिलेको अवस्थामा चाहेअनुसार गतिविधि गर्न सक्छन् । सत्ता हातमा लिएपछि प्रचण्डले ‘म कन्फिडेन्ट नै छैन’ भन्न छोडेका छन् । तर, ‘म कन्फिडेन्ट छु’ पनि भन्न सकेका छैनन् । तर, पछिल्लो बैठक तथा छलफलहरुमा प्रचण्डले ‘छिपछिपे’ शब्द खुब प्रयोग गर्न थालेका छन् ।
प्रचण्डले भन्दै आएको ‘छिपछिपे’को अर्थ के हो ?
छिपछिपेको दुई अर्थ हुन्छ । एक– तरल वस्तुमा ठोस वस्तुहरू मिसाउँदा तरल वस्तु छिपछिप मात्र र ठोस वस्तु बढी हुन खोजेको हुन्छ । दुई– झोल र चोक्टा परेको वस्तुमा दुवै पक्ष बराबर भए ।
प्रचण्डले भने अलि फरक अर्थमा ‘छिपछिपे’ भन्न खोजेको हुनसक्छन् । अर्थात्, झोल र तरल छुट्याउन खोज्दैछन् । भन्नुको मतलब न तरल न ठोस अवस्थाले चल्दैन केही ‘बोल्ड डिसिजन’ गर्नुपर्ने बेला आयो भन्ने प्रचण्डको मनोभाव हुनसक्छ । यसको छनक बैसाख १४ गते सम्पन्न केन्द्रीय समिति बैठकबाट प्रचण्डले दिइसकेका छन् ।
संगठनात्मक संरचनामा आमूल परिवर्तनको संकेत
प्रचण्डको विगत हेर्दा उनले विशेष परिस्थितिहरुमा ‘बोल्ड डिसिजन’हरु गर्दै आएका छन् । बैशाख १४ गते सम्पन्न केन्द्रीय समिति बैठकबाट प्रचण्डले संगठनात्मक संरचनामा र नेतृत्वमा आमूल परिवर्तन गर्ने संकेत गरेका छन् । जुन बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव अनुसार सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत दलित, समितिका पदाधिकारीमा एक जना महिला अनिवार्य र २० प्रतिशत युवा अनिवार्य सहभागी गराइने छ । माओवादीलाई यो संरचनामा लैजाने प्रचण्डको निर्णयले माओवादी जीवनमा आमूल परिवर्तन नै ल्याउन सक्छ । तर, विधान संशोधन र कार्यान्वयन शंकाकै घेरामा छ । माओवादीले यो संरचना कार्यान्वयन गरे दोस्रो पुस्ताका माओवादी नेता ‘फडानी’मा पर्नेछन् । जुन अधिक खतरायुक्त पनि हुनसक्छ ।
दोस्रो पुस्तासँग आजित प्रचण्ड
प्रचण्डले सबै समितिमा २० प्रतिशत युवा सहभागी गराउने निर्णय गर्नुको अनेक ‘फ्याक्टर’ छन् । मुख्य ‘फ्याक्टर’ चाहिँ समकालीन र दोस्रो पुस्ताका नेता हुन् । किनकी, यो अवधिमा प्रचण्डले सबैभन्दा धेरै ‘हैरानी र बदनामी’ दोस्रो पुस्ताका नेताबाटै खेपेका छन् । त्यसैले नयाँ पुस्तालाई क्रमशः नेतत्वमा ल्याएर बुढा पुस्तालाई विस्तारै पन्छाउँदै जाने प्रचण्डको योजना हुनसक्छ ।
शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी धेरै पटक सरकारमा सहभागी भयो । हरेक पटक दोस्रो पुस्ताकै नेता मन्त्री भए । जति पटक अवसर आए पनि दोस्रो पुस्ताले नै कब्जा गरे । मन्त्री नबनाए पार्टी नै छोड्नेसम्मका धम्कि दिँदै दोस्रो पुस्ता नै मन्त्री बनिरहे । अन्य अवसरहरु पनि उनीहरुले नै उपभोग गरे । तर, यसरी सत्तामा जाने समकालीन र दोस्रो पुस्ताका नेताले बदनामी मात्र कमाए । आज पनि सोही पुस्ता नै हावी हुने तर काम केही नगर्ने अवस्थाले प्रचण्ड आजित छन् ।
पछिल्लो समय प्रचण्डले सार्वजनिक रुपमै पार्टीमा लोभीपापीहरु हावी भएको भन्दै लामो दुखेसो पोखे । साउन ९ गने नेकपाका संस्थाक नरबहादुर कर्मचार्यको स्मृति दिवसका अवसरमा प्रचण्डले पार्टीका ४९ जना सांसद नै मन्त्री बनाउनु पर्यो भन्दै डेलिगेसन आउने गरेको सार्वजनिक गरे । त्यति मात्र होइन, आफ्ना नेताहरुको गलत आचरण दुनियाँलाई सुनाए– ‘पार्टीमा अवसरवादीहरु हावी भएका छन् । मन्त्री पद पाएन भने नेतृत्वलाई सराप्ने, मन्त्री पाएमात्र काम गर्ने प्रवृत्तिको विकास भएको छ ।’ यस्ता धेरै कारणहरु छन् । जुन कारणर प्रचण्ड पार्टीमा युवा ल्याएर बुढाहरुलाई तह लगाउने रणनीतिमा छन् ।
प्रचण्डका लागि उपयुक्त समय
प्रचण्डले पछिल्लो समय एकदम निकटका नेतासँग भन्ने गरेका छन्– ‘साथीहरुले धेरै दुःख दिए । अब पार्टी निर्माणका लागि बोल्ड डिसिजन गर्दैछु ।’ प्रचण्डले अहिलेकै अवस्थालाई उपयुक्त समय ठानेका छन् । अर्थात्, दोस्रो पुस्तालाई तह लगाउन केही निर्णय गर्नसक्छन् । प्रचण्डले अहिलेकै अवस्थालाई उपयुक्त समय मान्नुका पनि केही कारण छन् ।
केपी शर्मा ओली सत्तामा हुँदा प्रचण्डलाई नेता कार्यकर्ता जोगाउन हम्मे–हम्मे परेको थियो । जनयुद्धका खम्बा मानिएका रामबहादुर थापा ‘बादल’समेत ओलीले खोसेपछि प्रचण्ड औधी तनाबमा थिए । तर, अब प्रचण्ड त्यो तनाबमा छैनन् । ओली सत्ताबाट बाहिरिएसँगै बादल, टोपबहादुरहरुको रुवाबासीले प्रचण्डलाई सहज भएको छ ।
यस्तो अवस्थामा पार्टी छोडेर जानेहरुको बेहालत हुने कुरा सबैलाई हेक्का भएको बेला प्रचण्ड खास निर्णयको संघारमा पुगेका हुन् । प्रचण्डले ‘ओलीसँग लागेकाहरुको हालत देख्नु भयो होला नि’ भन्दै धेरैपटक भाषण गरेका छन् । यसको मतलव ‘पार्टी छोडेर गए तिमिहरु पनि यसरी नै सकिन्छौं’ है भन्न खोजेका हुन् ।
त्यसैले, बारम्बार घुर्की लगाएर सबै अवसर लिने तर पार्टीलाई बदनाम मात्र गराउनेहरुलाई तह लगाउन प्रचण्डले यसै समयलाई रोजेका हुन् । माओवादी नेताहरु अहिलेको अवस्था जस्तोसुकै असहज भए पनि पार्टीमै रहनुपर्ने बाध्यतामा छन् । किनकी, पार्टी छोडेर जाने ठाउँ नै छैन । छोडेर गए पनि ‘करियर’ नै समाप्त हुने डर सबैलाई छ । यही अवसरलाई सदुपयोग गर्दै प्रचण्डले माओवादीलाई युवाको भर्तीकेन्द्र बनाउने सोच बनाएका हुन् ।
प्रचण्डको योजना कम जोखिमयुक्त छैन
प्रचण्डले समकालीन र दोस्रो पुस्तालाई तह लगाउन सबै समितिमा २० प्रतिशत युवा पुस्ता सहभागी गराउने निर्णय लिनु सकारात्मक हो । तर, अधिक खतरायुक्त पनि छ । किनकी, तेस्रो पुस्ता हस्तक्षेप गर्नसक्ने अवस्थामा छैनन् । पार्टीमा समकालीन र दोस्रो पुस्ता नै हाबी छ । यस्तो अवस्थामा प्रचण्डविरुद्ध ठूलो घेराबन्दी हुनसक्छ ।
त्यो घेराबन्दी सफल भए माओवादी आन्दोलन नै समाप्त हुने खतरा हुन्छ । समकालीन र दोस्रो पुस्ताले घेराबन्दी गर्दा तेस्रो पुस्ताले हस्तक्षेप गर्न सके प्रचण्ड सफल त हुन्छन् नै माओवादी आन्दोलनले पनि लय समात्न सक्छ । कारण, बुढाहरु जस्तै युवा ‘करियर’ दाउमा राखेर गलत कार्य रोज्न सक्दैनन् ।
प्रचण्डकै दबदबा !
प्रचण्डको बिगतले भन्छ– ‘प्रचण्ड जहाँ हुन्छन् त्यहाँ आफ्नो दबदबा कायम राख्छन् ।’ चार दशक लामो राजनीतिक ‘करिअर’मा प्रचण्ड जहाँ–जहाँ रहे त्यहाँ हाबी भएका छन्, दबदबा कायम राखेका छन् । दबदबा थेग्न सक्नेहरु प्रचण्डसँगै छन् । प्रचण्डसँग लड्न नसक्नेहरु लाखापाखा लागिसके ।
प्रचण्डसँग बनाउने र बिगार्ने दुबै खुबी छ । यो नै प्रचण्डको ‘खतरनाक फ्याक्टर’ हो । आफूसँग मिले सबथोक बनाइदिन्छन्, नमिले सबथोक बिगारिदिन्छन् । प्रचण्ड नेतृत्वमा आएपछि यस्ता धेरै घटना छन्, जनयुद्धको समयमा होस् या शान्तिपूर्ण राजनीतिमा । त्यसैले, प्रचण्डसँग सिङ्गौरी खेल्न जो कोहीले आट गर्दैनन् । आँट गर्नेहरुको हालत ओलीकै जस्तो हुन्छ । यसपटक प्रचण्डको बोल्ड डिसिजन के होला त्यो हेर्न भने बाँकी नै छ ।