काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास पूर्णरूपमा तयार हुन भने अझै केही महिना लाग्ने छ ।
निर्माणाधीन निवासमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय रहने छ । कोरोना महामारीका कारण अहिलेसम्मको निर्माण लक्ष्य पूरा नभए पनि ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै निर्धारित समयमा नै काम सम्पन्न हुने र आगामी निर्वाचन अगावै मन्त्री निवास पुल्चोकबाट भैँसेपाटी स्थानान्तरण गर्ने गरी काम भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले निर्माण कामलाई तीव्रता दिन निर्माण कम्पनीहरूलाई ताकेता गरिएको जानकारी दिनुभयो ।
मुख्य संरचनागत निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिँदै उहाँले चालू आर्थिक वर्षभित्र दुईवटै आयोजनाको काम सम्पन्न हुने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । मुख्य संरचनाको काम सम्पन्न भइसकेपछि ‘फिनिसिङ’ को काम सुरु गरिने उहाँले स्पष्ट गर्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री निवासको अहिलेसम्मको भौतिक प्रगति ६२ प्रतिशत तथा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माणको भौतिक प्रगति ५८ प्रतिशत रहेको छ ।
अहिले प्राविधिक र श्रमिक गरी दैनिक दुईरदुई सय जनशक्ति कार्यरत छन् । उहाँले भन्नुभयो, “दुईवटै आयोजनाको निर्माण अवधि यही असोजमा समाप्त हुँदैछ । कोरोनाका कारण आयोजना समयमा सम्पन्न हुन नसकेकाले छ महिना थप्ने तयारी भइरहेको छ ।”
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सङ्घीय मन्त्री निवास निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीच २०७६ कात्तिक २७ गते सम्झौता भएको थियो ।
करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भइरहेको छ । त्यसैगरी प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असोज २७ गते निर्माण सम्झौता भएको थियो । यस आवास क्षेत्र निर्माणको कुल लागत ७३ करोड ४७ लाख रुपियाँ छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।