भजनी । कैलालीको भजनी नगरपालिका-५ का ३८ वर्षीय बाधुराम चौधरीको परिवार अहिले सडक छेउमा त्रिपालमूनी बस्न लागेको एक साता भइसक्यो ।
साताअघि मोहना नदीमा आएको बाढीले घर भत्काएपछि उनको परिवार अहिले घरबाट एक किलोमिटर दूरीमा रहेको हुलाकी सडक छेउमा त्रिपालमूनी बसिरहेको छ ।
‘बाढीले घर भत्काएपछि त्रिपाल टाँगेर त बसियो । तर, दुई छाक टार्नै समस्या छ,’ उनले दुखेसो सुनाए । घरमा भएको अन्नपात बाढीले बगाएपछि कसरी परिवारको दुई छाक टार्ने चिन्तामा छन् उनीहरु स्थानीय सरकार र सरोकारवाला अन्य निकायबाट पनि सहयोग नपाएको उनको गुनासो छ ।
उनी मात्रै होइनन्, बाढीबाट विस्थापित भएर वा विस्थापित हुने डरले वडा नम्बर ५ का १६ परिवार हुलाकी सडकमा त्रिपाल टाँगेर बस्ने बाध्य छन्, जसमा पलियापुरका १४ र लालबोझीका २ परिवार छन् ।
गत वर्ष विस्थापित भएकाहरुको पनि व्यवस्थापन भएन
गत वर्षको बाढीबाट प्रभावित भएका भजनी नगरपालिका वडा नम्बर ३, ५, ७, ८ र ९ वडाका पाँच सय ५० घरधुरीभन्दा बढी एक वर्षदेखि सामुदायिक वनको जग्गा अतिक्रमण गरी बस्दै आएका छन् ।
वर्षेनी वर्षायाममा विस्थापित हुँदै आएका नागरिकले शिविरमा बसेपछि बाढी र डुवानको समस्याबाट छुटकारा त पाए त्योभन्दा जटिल समस्या उनीहरुलाई गाँस र कपासको छ ।
उनी गत सालको साउन १४ गतेको बाढी र डुबानबाट भजनी- ९ का निर्मल राजी पनि शिविरमा बस्दै आएका छन् । बाढीबाट विस्थापित भएपछि स्थानीयबासीको पछिपछि लागेर उहाँ निर्मल मोहन्याल सामुदायिक वनको शिविरमा पुगेका थिए । त्यहाँ उनी खरले छाएको अस्थायी घर निर्माण गरी सपरिवार त्यही शिविरमा बस्दै आएका छन् ।
‘बाढीले प्रभावित भएपछि घर छाडेर शिविरमा बस्नुप¥यो, शिविरमा बसेकालाई स्थानीय सरकारले राहतबाट पनि बञ्चित ग¥यो’, निर्मलले भने, ‘हामीले कष्टपूर्ण जीवन बिताउँदै आएको स्थानीय सरकारलाई थाहा छ, तर थाहा भएर पनि सरकारले हाम्रो दुःखमा मल्हम लगाउन सकेन ।’
जिल्लाको भजनी नगरपालिकाका बाढी पीडितहरु त्यहाँको मोहन्याल सामुदाय वन र पशुपति सामुदायिक वनको जमिन अतिक्रमण गरेर बस्न बाध्य भएका छन । उनीहरु भन्छन- हामी सामुदायिक वनमा त्रिपाल टाँगेर बसिरहेका छौं, तर त्यहाँ हामीहरुलाई वनले हटाउन खोज्दै छ । अब हामी कहाँ जाने ।
त्यस्तै, भजनी-५ की जोगेनी बिकले बाढीको त्रासबाट छुटकारा मिले पनि त्योभन्दा बढी काष्टपूर्ण जीवन शिविरमा बिताउनुपरेको बताए । ‘दिउँसोको समयमा सबै घरको बाहिर भित्र हुन्छौं, कुराकानी हुन्छ, दिन कटेको थाहा हुँदैन’, जोगेनीले पीडा सुनाउँदै भन्नुभयो, ‘साना-साना बालबालिका छन्, वनमा बस्नुपरेको छ, रातिको समयमा जङ्गली जनावरको निकै डर हुन्छ, छोराछोरीलाई कसरी बचाउने भन्ने चिन्तामा रात बित्छ ।’
उनले शिविरमा शौचालय नभएका कारण रातिको समयमा जङ्गलभित्र टाढाटाढा जानुपर्ने हुँदा निकै समस्या हुने गरेको बताए । भजनी-७ की पार्वती चौधरी जङ्गलमा रहरले नभई बाध्यताले बस्नुपरेको बताउँछन् ।
‘हामी सामुदायिक वनमा बाध्यताले बसेका छौ तर पनि सुखले बस्न पाएका छैनौं । कुन दिन वन कार्यालयले हामीलाई उठाउने हो थाह छैन’ उनी भन्छन्, ‘घर फर्केर जाऊँ बाढीको बितण्डाले रातदिन जाग्राम बस्नुपर्ने हुन्छ, यतै बसौं भने जङ्गली जनावरको त्रास उस्तै छ’, पार्वतीले भनिन्‘शौचालयको व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिएको छैनन्, वनमा नै शौच गर्नुपर्ने अवस्था छ, विद्युतको व्यवस्थापन छैन, रातितिर सर्प, कीरा फट्याङ्ग्राले डस्छ कि भने डर हुन्छ ।’ उनले आफूहरू सबै क्षेत्रबाट पीडित भएर बसेकाले पहुँच भएकाले शिविरमा पनि घर निर्माण गरेको बताए ।
बाढी प्रभावितले अर्को विकल्प नभएसम्म आफूहरू त्यहाँबाट कतै नजाने बताउँदै आएका छन् । स्थानीय सरकारले पनि बाढी पीडितलाई अन्य कुनै ठाउँमा व्यवस्थापन गर्न सक्ने अवस्था नदेखेपछि अहिलेसम्म पनि कुनै प्रतिक्रिया दिएको छैन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले स्थानीय सरकारले मात्रै चाहेर अतिक्रमित जग्गा खाली गराउन नसकिने भन्दै त्यसका लागि सामुदायिक वन र प्रशासन पनि चाहिने बताए । गत वर्षको बाढीबाट प्रभावित भएका भजनी नगरपालिका वडा नम्बर ३, ५, ७, ८ र ९ वडाका करिब पाँच ५० घरधुरीभन्दा बढी एक वर्षदेखि सामुदायिक वनको जग्गा अतिक्रमण गरी बस्दै आएका छन् । वर्षेनी वर्षायाममा विस्थापित हुँदै आएका नागरिकले शिविरमा बसेपछि बाढीको छुटकारा पाए पनि त्यसभन्दा जटिल समस्या शिविरमा छन् । उनीहरु सरकारसंग गाँस, बास र कपासको व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका छन् ।