धनगढी । राना समुदायको पहिरन मात्र होइन, उनीहरूको गरगहना पनि अझ आकर्षित छन् । गहनाका रूपमा उनीहरू (अगिया) चोली र (घघरीया) गुन्यूमा चाला, कंचट लगाउँछन् । खुट्टामा चाँदीको बिच्छु, काँसाको गोलो बनाएर पैडा, पैडाको तल ढुन्नी लगाउने गरेको धनगढी—७ की सीता रानाले भनिन्, ‘पायल पनि लगाउँछन् ।’
‘मालाका रूपमा गरेला, चाँदीको हार, सुनको नग्वेसर, कानमा वीर, उफनको डल्लो बनाएर फुलवा र गुट्का, ह्सुलिया, चाँदीका सिक्काको माला लगाउने गर्छौँ,’ धनगढी उपमहानगरपालिका–१३ की पार्वती रानाले भने । तर, अहिले यी गहनाहरू विरलै देख्न पाइन्छन् । केहीले गहना बेचिसकेका छन् भने केहीले भएका गहना पनि जतन गरेर राख्न नसक्दा हराएका छन् ।
यस्तै, फतुईः कपडामा चाँदीको सिक्का सिएर घाँटीमा लगाउन बनाइएको माला लगाउने गरेको सीताको भनाइ छ । हातका बालाका रूपमा सुनचाँदीको गोलो घेराजस्तो साम, खडुवा, पहुँची, नाकमाः मुदडी, हातको कुममा लगाउने लगौरा, उनको र सिक्काको लगाउँछन् ।
मौलिकता बिसिँदै नयाँ पुस्ता
केही वर्ष अघिसम्म आफ्नै हातले सिएको पहिरन लगाउने राना समुदायका महिलाहरू अहिले बजारिया कपडाहरू लगाउन थालेका छन् । उनीहरूले लगाउने पोसाकलाई घघरिया (गुन्यू) र अगियाँ (चोली) भन्ने गरिन्छ ।
पहिले सबै महिलाहरू यही पोसाक लगाउने गर्दथे । आधुनिकताको प्रभावले नयाँ पुस्ता कुर्ता सलवार र पाइन्ट टिसर्ट लगाउन थालेका छन् । जसका कारण अहिले घघरिया लगाउने महिला राना समुदायमा निकै कम देखिन थालेका छन् ।
सोही ठाउँकी, जानकी रानाले भने, ‘नयाँ पुस्ताले आफ्नो मौलिकता बिर्सँदै गएको छ ।’ बालबालिकाहरू कपडा सिउन दर्जीकोमा जान थालेका छन् । अहिले परम्परागत पहिरन लगाउनेको संख्या घट्दै गएको उनको भनाइ छ ।
‘विवाह, विशेष पर्व, होली, तीजमा परम्परागत पहिरनको खोजी हुन थालेको छ’ उनले भने, ‘मौलिक पहिरन अहिले फेसन बन्न थालेको छ । ’आधा उमेर घघरिया र अगियाँ लगाएर काट्यौँ । आफ्नो पोसाक लगाउँदा बेग्लै आनन्द आउँछ ।’
धनगढीकै राम दुलारी रानाले भने, ‘बजारका बनिबनाउ लुगा लगाउने नयाँ पुस्ताका बच्चाहरूलाई के थाहा आफ्नो पोशाकको महत्व ।’
‘रंगीविरंगी कपडाले बन्ने राना पहिरन तयार पार्न पहिलेको तुलनामा महँगो पर्ने भएकाले पनि अहिले बनाउन छोडिएको हो ।’ महेश्वरी रानाले भने, ‘एक जोर परम्परागत पहिरन तयार हुने पैसाले दुई जोर बजारका कपडा किन्न सकिन्छ ।’ मौलिक पहिरन तयार पार्न समय बढी लाग्ने त्यसमाथि पनि महँगो पर्ने भएकाले पनि धेरैले लगाउन छोडेको उनले बताए ।
संरक्षणतर्फ कसैको ध्यान गएन
हेर्दै लोभलाग्दो राना समुदायको परम्परागत पहिरन बनाउने सीप न त नयाँ पुस्ताले ग्रहण गर्न खोज्यो न पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके । ७० कटेकी छिद्दो रानाले भन्नुभयो, ‘फुर्सद भएपनि अहिलेको पुस्ता पुरानो संस्कृति सिक्न खोज्दैन ।’
नेपालमा अल्प संख्यामा रहेको राना समुदायको पहिचान लोप भइरहेको भन्दै बिट्टो देवी राना चिन्ता व्यक्त गर्नुहुन्छ । दिउँसोको बेला घरमा परम्परागत पहिरन सिउँदै गरेकी उहाँले भन्नुभयो, ‘बनाउन नसक्ने नयाँ पुस्ताले अहिले आफ्नो पहिरनसमेत बिर्सेको छ ।’
पहिरन तयार पार्दा आवश्यक पर्ने कपडाका टुक्रा, बुट्टा भर्न चाहिने ऊन, ठाउँ-ठाउँमा राख्न चाहिने ऐनाका स-साना टुक्रा आदि किन्दा खेरी अहिले महँगो पर्ने गरेका कारण पनि अहिले परम्परागत पहिरन बनाउनेको संख्या घटेको उनी बताउँछन् ।
‘पहिरन बनाउँदा विभिन्न रङका कपडाको मिश्रण अनि त्यसलाई कलात्मक रूपमा सजाउन पर्छ । त्यसैले पनि सबै पहिरन तयार पार्दा सम्म १० हजार बढी खर्च आउँछ, त्यति रकम सबैसँग हुँदैन’ सुदूरपश्चिम प्रदेशसभा सदस्य मालामती रानाले बताए ।
रानाथारुको पहिरनसहितको संस्कृतिको जर्गेना गर्नका लागि संग्र्रहालयको स्थापना गरिनेछ । पढेलेखेका युवाहरूले पनि रानाको संस्कृति र पहिरन लोप हुँदै गएको कुरामा सचेत रहन पर्ने उनको भनाइ छ ।
‘युवा पुस्ताले आफ्नो पहिचान लोप हुनदिनु हुँदैन’ प्रदेशसभा सदस्य मालामतीले भने । अगिया, चोली र घघरीया, गुन्युसँगै, टाउको छोप्न उनीया, ब्लाउजको रूपमा अंगिया, र गुन्युका रूपमा उनीहरू घघरीया लगाउँछन् ।
बुढापाका भन्छन्, ‘हामीले गरेरमात्र नहुने रहेछ’
केही महिलाहरू भने अहिले पनि आफ्नै पोसाक सिउने र लगाउने गर्दछन् । तिनैमध्येका एक हुन्, धनगढी उपमहानगरपालिका— १३ कि ६० वर्षीया छविला राना ।
‘म आफ्नो पोसाक आफैँ सिउने गर्दछु । दैनिक चार घण्टा समय पाए भने एउटा घघरिया तीन महिनामा तयार गर्न सक्छु ।’ घरको आँगनमा बसेर घघरिया सिउँदै गरेकी छविलाले भने, ‘घरको कामबाट समय पाउने बित्तिकै म घघरिया बनाउन बस्छु ।’
कृषि पेसामा व्यस्त छविला फुर्सदको समय आफ्नो मौलिक पोसाक सिलाउनमा बिताउँछन् । साँझबिहान घरको काम सकेर दिउँसो र रातको समयमा परम्परागत (अगिया, चोली, घघरिया र गुन्यु सिउनु उहाँको दैनिकी नै हो । उनी एउटा सानो सियोको मदतले आफ्नो सम्पूर्ण पोसाक तयार गर्छन् ।
राना समुदाय नेपालको कैलाली-कञ्चनपुरमा मात्रै बसोबास गर्ने गर्छन् । उनीहरूको आफ्नै भाषा छ, आफ्नै संस्कृति छ । आफ्नै पहिरन छ । जसले राना जातिको पहिचान झल्काउँने गर्दछ । तर, केही समय यता उनीहरूको मौलिक पहिरन हराउन थालेको छ ।
रानाथारु समुदाय त उदाहरण मात्र हो । पछिल्लो समय सुदूरपश्चिमका मौलिक तथा धार्मिक कला, संस्कृतिहरु हराउँदै गएका छन । जसले गर्दा नयाँ पुस्ता बिकृतितर्फ उन्मूख भएको देखिन्छ ।