Logo
Logo

पौडेल पक्षका नेताहरु चाक्सीबारीमा, महाधिवेशनबारे छलफल


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटेका छन् । आसन्न महाधिवेशन मिति अन्योल बन्दै गएकाले त्यसबारे छलफल गर्न पौडेल पक्षका नेताहरु जुटेका हुन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा बिहीबार बसेको छलफल १४औँ महाधिवेशन केन्द्रित रहेको बताइएको छ । यसअघि भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि पछिल्लो समय क्रियाशील सदस्यताको विवादले गर्दा अनिश्चित बनेको छ ।
क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म महाधिवशेन टुंगो लाग्ने देखिँदैन । केही दिनयता क्रियाशील विवाद समाधान गर्न कांगे्रशका शीर्ष नेताहरु जुटेका छन् ।

यसैक्रममा बिहीबार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको हो । कांग्रेसमा बारा, सप्तरीलगायत विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद छ ।

समायोजनका नाममा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी हिसावले क्रियाशील सदस्यता दिएकोमा पौडेल पक्षले विरोध गर्दै आएको छ ।
कांग्रेसमा करिब एक सय वडामा क्रियाशील सदस्यताको विवाद छ । क्रियाशीलमा विवाद भएकोले वडा अधिवेशनदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको छ भने नयाँ कार्यतालिका जारी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्