काठमाडौं । गेष्ट हाउसको आवरणमा एक व्यक्तिले सुन तस्करी गर्दै आएको खुलेको छ । तिलगंगामा खोटाङ हलेसी गेष्ट हाउस चलाउँदै आएका अम्बर चाम्लिङले सुन तस्करी गर्दै आएको खुलेको हो ।
वैदेशिक रोजगारीबाट फर्किएका युवकलाई प्रयोग गरी उनले सुन तस्करी गर्दै आएका हुन् । चाम्लिङलाई प्रहरीले करिब ४५ लाख रुपैयाँ बराबरको सुनसहित पक्राउ गरेको छ ।
सुरुमा प्ररहीले साउदी अरबबाट आएका सिरहाका रिसब महतोलाई पक्राउ गरेको थियो । उनले आफुसँगै आएका अन्य व्यक्तिसँग आठ वटा सुनको बाला तथा दुई वटा औंठी संकलन गरेका थिए । उनलाई पक्राउ गरी अनुसन्धान गर्दा त्यसमा चाम्लिङको संलग्नता खुलेको हो । उनीहरुबाट चार सय ७४ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीका एसएसपी राजेश बाँस्तोलाले बताए । उनीहरु उपर भन्सार कार्यालयले थप छानबिन थालेको छ ।
विदेशबाट फर्कदा ५० ग्रामसम्म सुन ल्याउन पाइने सुविधा छ । सो सुविधा दुरुपयोग गरी सुन तस्करी हुँदै आएको छ । १० ग्राम सुनमा ने १० हजार रुपैयाँसम्म नाफा हुने भएकाले यसरी तस्करी हुने गरेको हो ।