काठमाडौं । एक प्रहरी हवल्दारको योजनामा राष्ट्रसंघीय शान्ति मिसनमा जाने प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले सञ्चालन गरेको ‘प्रि–स्याट’ परीक्षामा प्रहरीले नै प्रश्नपत्र किनबेच भएको पुष्टि भएको छ । हवल्दार कुमार शाहले यूएन शाखाबाट प्रश्नपत्र चोर्न लगाई विभिन्न प्रहरीलाई दिएका हुन् ।
गत १५ र १६ साउनमा सञ्चालन भएको परीक्षाका प्रश्नपत्र चोरी गरेर बिक्रि भएको हो । नेपाल प्रहरीको यून शाखामै कार्यरत प्रहरी परिचर सुरेश बमले कार्यालयको साँचो चोरी गरेर प्रश्नपत्र फोटोकपी गरेर अन्य प्रहरीलाई बिक्रि गरेका हुन् । परिचर बम र हवल्दार कुमार शाहलाई प्रधान कार्यालयले नियन्त्रणमा लिएर गणभित्र थुनामा राखेको छ ।
यूएन शाखाका एसपी अनुपमशमशेर राणाले प्रश्नपत्र आफ्नो ड्रयरमा राखेर साँचो लिई घर गएका थिए । एसपीको ड्रयरको अर्काे साँचो पहिलेदेखि नै परिचर बमले राख्दै आएको र सोही साँचो प्रयोग गरी उनले प्रश्नपत्र चोरी गरेका हुन् ।
कार्यालयबाट सबै घर गएपछि उनै बमले एसपीले राखेका प्रश्नपत्र फोटोकपी गरेर विभिन्न प्रहरी अधिकारीलाई बिक्रि गरेका थिए । यसका योजनाकार थिए साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाह । करिब आठ वर्ष यूएन शाखामा बसेर हालै कारबाही स्वरुप त्यहाँबाट हटाइएका शाहले नै परिचर बमलाई त्यस्तो काम लगाएको खुलेको छ । हवल्दार साह पनि परीक्षा दिदै थिए । विभिन्न बदमासीमा संलग्नता देखिएपछि उनलाई त्यहाँबाट कारबाही गरेर हटाइएको स्रोत बताउँछ ।
यससम्बन्धि प्रहरी प्रधान कार्यालयले डिआइजी बसन्त लामाको नेतृत्वमा छानबिन गरिरहेको छ । हालसम्मको छानबिनमा प्रश्नपत्र किनबेच नै भएको पुष्टि भएको छानबिन समिति स्रोत बताउँछ । ‘हवल्दार साहले परिचर बमलाई एक लाख रुपैयाँ तिर्नुपर्ने रहेछ,’ छानबिन समितिमा एक सदस्य भन्छन्,‘यदी त्यसरी प्रश्नपत्र दिन सके, त्यो पैसा दिन नपर्ने र थप पैसा समेत दिने आश्वासन दिएको देखियो ।’ सो प्रश्नपत्र हवल्दार शाहले अन्य प्रहरीलाई समेत बिक्रि गरेको स्रोत बताउँछ । त्यस्तै परिचर बमले आफैं पनि विभिन्न प्रहरी अधिकारीलाई प्रश्नपत्र उपलब्ध गराएर लाभ लिएको देखिएको छ । दुवै जनाले अपराध स्वीकार गरिरहेका छन् । हवल्दार शाहले डिएसपी रुपेश खड्का लगायतलाई आफुले प्रश्नपत्र उपलब्ध गराएको बताएका छन् । त्यसरी प्रश्नपत्र प्राप्त गर्ने दर्जन प्रहरीको पहिचान भइसकेको स्रोत बताउँछ । प्रश्नपत्र लिक भएको थाहा भएर पनि केही प्रहरीले यसलाई गोप्य नै राखेका थिए । उनीहरुमाथि समेत छानबिन समितिले सोधपुछ थालेको छ ।
प्रि स्याट परीक्षाका लागि एसएसपी प्रदीप श्रेष्ठको नेतृत्वमा आठ सदस्यीय समिति बनेको थियो । सो समितिका रहेका प्रहरीको पनि मिलेमतोको आशंकामा छानबिन भइरहेको स्रोत बताउँछ । परीक्षामा करिब दुई हजार चार सय प्रहरी सहभागी थिए । प्रश्नपत्र बाहिरिएको आशंकापछि छानबिन समितिले गठन गरेर त्यसबारे बुझ्ने काम भइरहेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए ।
राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरी परामर्श(अनपोल मिसन) का रुपमा जान अंग्रेजी भाषा, ड्राइभिङ तथा सुटिङ जस्ता परीक्षा उत्तिर्ण हुनुपर्छ । जसलाई ‘स्याट’ परीक्षा भनिन्छ । यस्तो परीक्षामा राष्ट्रसंघकै प्रतिनिधिको निगरानीमा सञ्चालन हुन्छ । स्याट परीक्षामा सहभागी हुनेको संख्या धेरै हुने भएकाले त्यसअघि प्रहरीले आफैं ‘प्रि स्याट’ परीक्षा सञ्चालन गरी पूर्व छनोट गर्दछ । जसमा प्रहरीभित्रै बदमासी भएको हो । स्याट परीक्षामा पनि विगतमा पटक पटक यस्ता गतिविधि भएका छन् ।