चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।
उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुंग्याउनुपर्ने बताए । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनको भनाइ छ ।
उनले भने, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’