काठमाडौं । भुटान सरकारले दिएको करिब तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । खोप भुटानको ड्रुक एयरलाइन्सको जहाजमार्फत शुक्रबार त्रिभुवन विमानस्थलमा ओरालिएको हो ।
भुटानले आफ्ना सबै नागरिकलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको जनाएको छ । खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप आइपुगेको छ । खोप कति डोज छ भन्ने यकिन नभएपनि परराष्ट्र मन्त्रालयले लगभग तीन लाख रहेको बताएको छ ।
भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ ।