Logo
Logo

७० वर्ष पुगेका केपी ओलीले राजनीतिबाट विश्राम लिनुपर्ने माग


दृष्टि संवाददाता

7.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा पार्टी विधान अनुसार ७० बर्ष पुगिसेका अध्यक्ष केपी शर्मा ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने माग भएको छ ।

बैठकको समापनको आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य दिनेश राईले ७० बर्ष पुगिसेका अध्यक्ष ओली सहितका नेताले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने धारणा राखेका हुन् ।

‘पार्टी विधानको कार्यान्वयन गर्दै अध्यक्ष केपी ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ’ राईले भने, ‘विगतमा धेरै नेताले विधानको कार्यान्वयन गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएका छन्, ७० बर्ष पुगिसेका ओली कमरेडले पनि विधानको कार्यान्वयन गर्न आवश्यक छ ।’

एमालेको विधान–२०४९ (नवौं महाधिवेशनबाट संशोधन २०७१)ले ७० वर्ष पुगेका व्यक्ति कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन रोक लगाएको छ । २०७१ बाट लागू भएको यो बाध्यकारी प्रावधानकै कारण भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । ६० वर्ष लामो राजनीतिक जीवनबाट अधिकारीले विधानको पालना गर्दै महाधिवेशन हलबाट बिदाइ लिएका थिए ।

गएको ११ फागुनमै अध्यक्ष ओलीले ७०औं जन्मदिन मनाइसकेका छन् । सोही कारण ७० वर्ष पुगिसकेका ओलीले पनि विधानको कार्यान्वयन गर्दै बिदा लिनुपर्ने आवाज बैठकमा उठेको हो ।

बैठकमा ओलीले संविधान र लोकतन्त्र विरोधी कार्य गरेकाले सार्वजनिक रूपमा आत्मालोचना नगरे पार्टी एकता नगर्ने धारणा समेत आएको छ । संविधान र लोकतन्त्रकोविरुद्ध ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने राईको माग थियो ।

‘संविधान र लोकतन्त्रको विरुद्ध प्रतिनिधिसभा विघटन गर्नेले सार्वजनिक रुपमा आत्मालोचना नगरे लत्रिएर पार्टी एकता गर्नुको औचित्य छैन्’ राईले भने ।

पार्टी एकता गर्दा सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने दबाब नेपाललाई छ । बैठकमा आफ्नो धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यले सम्मानजनक अवस्थामा मात्रै पार्टी एकता गर्नुपर्ने सुझाव दिएका छन् ।

बिहीबार २३ जना र शुक्रबार ३२ जना सदस्यले धारणा राखेका छन् । २४ साउनमा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । सो बैठकले गर्ने निर्णयका आधारमा अगामी रणनीति तय गर्ने नेपाल पक्षका नेताले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा सबै सदस्यले धारणा राख्न नपाउँदै बीचमै बैठक स्थगित गरिएको हो । स्थायी कमिटी बैठक बसेर अगामी रणनीति तय बताइएको छ ।

सदस्य दिलु पन्तका अनुसार बैठकमा अधिकांश नेताले सम्माजनक एकताको पक्षमा मत राखेका छन् । ओलीसँग कुनैपनि हालतमा आत्मसमर्पण गर्न नहुने उनीहरुको धारणा छ । पटक पटक जनता विरोधी तथा पार्टी विधान विपरित कार्य गरेकाले ओलीले आत्मालोचना गर्नुपर्ने आवाज जोडदार रुपमा बैठकमा उठेको उनले बताईन् ।

‘पार्टी एकताको पक्षमै हामी छौं । तर आत्मसमपर्ण गर्न नहुने आवाज बैठकमा उठेको छ । पटक पटक जनता विरोधी तथा पार्टी विधान विपरित कार्य गर्नेले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने हुन्छ’ पन्तले भनिन्, ‘१० बुँदे पार्टी एकताको प्रस्तावको जगमा त्यसमा परिमार्जन गर्दै सम्मानजनक पार्टी एकता हुनुपर्ने आवाज उठेको छ ।’

बैठक पश्चात सञ्चारकर्मीसंग कुरा गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले असार २७ गते भएको १० बुँदे सहमतिलाई एकताको आधार मान्दै पार्टीलाई एकताबद्ध बनाउँने निष्कर्ष निकालेको बताए । ४ बुँदे निर्णय गर्दै बैठक सकिएको उनले बताए ।

१० बुँदे सहमतिलाई आधार मानेर एकता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउँदै पन्तले भने, ‘हाम्रो अडान सम्मानजनक पार्टी एकता हो, यसका लागि प्रयास जारी राख्ने सहमति भएको छ ।’

बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेकोमा स्वागत गरेको छ । यस्तै बैठकले १० बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौँ टिप्पणी गरिएकोमा आपती जनाएको छ । बैठकले पार्टी एकताको लागि वार्ता चलिरहेको समयमा अधिवेशन र सदस्यता नवीकरणको काम रोक्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्