Logo
Logo

भक्तपुरमा सुरु भयो उत्पादन श्रमसँग जोडिएको शिक्षा


दृष्टि संवाददाता

378
Shares

भक्तपुर । हाम्रो शिक्षा उत्पादन श्रमसँग नजोडिँदा त्यसले खासै प्रतिफल नदिएको विषय उठिरहेको बेला भक्तपुरमा भने उत्पादन श्रमसँग जोडिएको शिक्षा सुरु भएको छ । भक्तपुरको पुरानो स्कुलको रुपमा रहेको शारदा माध्यमिक विद्यालयले शिक्षाालाई उत्पादन श्रमसँग जोडिने शिक्षाको सुरुवात गरेको हो ।

भक्तपुर नगरपालिका वडा नं. २ यालाछेंमा वि.सं.२००९ सालमा स्थापना भएको सो विद्यालयले समयको आवश्यकतालाई मध्यनजर गरी उत्पादन श्रमसँगसँग जोडिएको शिक्षाको सुरुवात गरेको विद्यालयले जनाएको छ ।

‘हामीले धेरै पहिलादेखि शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने कुरा बताउँदै आइरहेका छौं, तर सकिरहेका थिएनौं, तर यो शैक्षिक सत्रबाट भने हामीले त्यसलाई मूर्त रुप दिनका लागि प्रयास गरेका छौं,’ विद्यालयका प्राचार्य रोशनराज तुइँतुइँले भने ।

उनले जीवनोपयोगी शिक्षा र व्यवहारिक ज्ञानलाई उत्पादन श्रम र सीपसँग जोडी विद्यार्थीलाई थप व्यवहारिक बनाउन उर्जा प्रदान गराउनका लागि पनि सो अवधारणाले विद्यालयमा कक्षा सुरु गरिएको बताए। प्राचार्य तुईतुईले भने, ‘हाम्रा विद्यार्थीहरुसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्नका लागि पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उनले भने, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ।’

विद्यालयले वाद्यवादन, फूलबारी निर्माण, चित्रकला, जडिबुटी खेती, जैविक खेती, सुकुल बुन्ने कला, विभिन्न हस्तकला, विभिन्न खेल प्रशिक्षण, भाषा प्रशिक्षण, च्याउ खेती, करेसाबारीको कामलाई जीवन उपयोगी शिक्षासँग जोड्नका लागि विषय क्षेत्र बनाएको छ । यतिमात्र नभएर विद्यालयले दैनिक घरायसी काम र ससाना समस्या आफैंले समाधान गर्न सकाउने सीप पनि दिने योजना विद्यालयले बनाएको छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्